Logo

‘समितिले बदनाम गरायो, २७ गते जवाफ दिन्छु’



जेठ २५, काठमाण्डौ । लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनका विषयमा सरकारको धारणा बुझ्न दोस्रो पटक बोलाएको बैठकमा मन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि राज्यव्यवस्था तथा सुशासन समितिका बैठक २७ गतेसम्मका लागि स्थगीत भएको थियो ।

मन्त्री पण्डितले प्राइम टाइम्स टेलिभिजनमार्फत बैठकमा उपस्थित नभएको कारण सार्वजनिक गरेका छन् । समितिले आफूलाई जानकारी नगराई जबरजस्ती बैठक राखेर अनुपस्थित भएको हलला फिँजाएको मन्त्री पण्डितले दावी गरेका छन् ।

शुक्रबार साझँ बसेको समिति बैठकमा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि बैठक आगामी २७ गतेसम्मका लागि स्थगित गरिएको थियो । आगामी २७ गते पनि मन्त्री उपस्थीत नभए लोक सेवा आयोगले हालै खोलेको बिज्ञापन रद्द गर्न निर्देशन दिने चेतावनी समितिले दिएको थियो ।

मन्त्री अनुपस्थितीले समितिका सांसदहरु निकै रुष्ट बनेका छन् । समितिको मत्वपूर्ण बैठकमा मन्त्री किन उपस्थित हुनुभएन भनेर हामीले लालबाबु पण्डितसँग कुराकानी गयौँ । कुराकानीका क्रममा मन्त्री पण्डितले समितिले आफूलाई जानकारी नै नगराई बैठक राखेर अनावश्यक हल्ला फिँजाएको गुनासो गरे । आफ्नो व्यस्ततालाई पनि नबुझि एकतर्फी रुपमा बैठक बोलाइएको मन्त्री पण्डितको आरोप छ ।

लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनका विषयमा आफू जवाफ दिन तयार रहेको पनि मन्त्री पण्डितले बताए । प्रश्नको सामना गर्न नसकेर उपस्थित नभएको भन्ने हल्लाको खण्डन गर्दै मन्त्री पण्डितले आगाी २७ गतेको बैठकमा उपस्थित भएर त्यहाँ उठेका सबै प्रश्नको जवाफ दिने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री पण्डितले लोक सेवा आयोगले स्थानीय तहको लागी खुलाएको विज्ञापन विवादित बनाउनु पर्ने कुनै कारण नभएको पनि दावी गरे । विज्ञान संविधान र कानुन अनुसार नै भएको उनको जिकिर छ । विज्ञापनसम्बन्धमा सरोकार नै नभएका व्यक्तिहरुले अनावश्यक बखेडा झिकेको भन्दै उनले भर्ना प्रक्रिया रद्ध नगरिने स्पष्ट पारे ।

आयोगले दरखास्त आव्हान गर्दा समावेशी समानुपातिक प्रतिनिधित्वलाई लत्याएको भन्दै विरोध भइरहेको छ । सोही विषयमा लगातार पाँच दिनदेखि राज्य व्यवस्था समितिको बैठक बसिरहेको छ । तर मन्त्री पण्डित शुक्रबारको तीन पटकको बैठकमा नगएपछि आलोचना भएको थियो । आयोगले गत साता ५ सय १५ स्थानीय तहका विभिन्न पदका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्