Logo

रसुवाका प्रजिअले झुट बोले



जिल्ला प्रशासन कार्यालय रसुवामा सर्वदलीय सर्वपक्षीले बैठकका नाममा नाकामा चल्ने ट्रक कन्टेनरलाई सिन्डिकेट लगाउन समिति गठन गरेपनि प्रमुख जिल्ला अधिकारीले झुटको खेती गरेका छन् । उनले आइतबार धुन्चेमा पत्रकार सम्मेलन गरेर सिन्डिकेट नलगाएको दाबी गरे ।

रिपोर्टर्स नेपालले सप्रमाण सिन्डिकेट लगाउन समिति बनाएर तयार गरेको कार्यविधि र डायल नम्बर राखेर ट्रक संचालन गर्न लगाएको तथ्य खुलाएपछि भण्डारीले पत्रकार सम्मेलनमार्फत् भ्रम सृजना गर्न खोजेका छन् ।

उनले प्रेस विज्ञप्तिमार्फत् कुनै ट्रक कन्टेरनलाई कुनै डायल वा सिन्डिकेट लागू नै नभएको बताएका छन् । तर, रिपोर्टर्स नेपाल डट कमले डायल नम्बर राखेर ट्रक कन्टेनर संचालनमा ल्याइएको तथ्य भेटेको छ । मालवाहक ट्रक कन्टेनर संचालनलाई व्यवस्थापन गर्ने नाममा उनीहरुलाई नम्बर दिएर मात्र प्रवेश दिन थालिएको छ ।

डायल नम्बर दिएर सिन्डिकेट लगाउन समिति गठन गरी कार्यविधि समेत तयार गरिएको तथ्य रिपोर्टर्स नेपालले खुलाइसकेको छ । सामान ढुवानी तथा ट्रक कन्टेनर व्यवस्थापन कार्यविधि भनेर छ वटा बुँदा तयार गरिएको छ । किार्यविधिको बुँदा नम्बर छ मा आफ्नो रोलक्रम नआए सम्म स्याफ्रु भन्दा माथि कुनै पनि मालवाहक गाडी छिर्न नपाउने उल्लेख छ ।

के भन्छन् प्रजिअ भण्डारी

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले रिपोर्टर्स नेपालको समाचारतर्फ संकेत गर्दै ‘सस्तो लोक प्रचारवाजी’ भने । उनले सिन्डिकेट प्रणाली लागू भएको भन्ने विषयलाई भ्रामक भनेको छ ।

विज्ञप्तिमार्फत् भनेका छन्,‘केही समययता रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने सामान बोक्ने ट्रक कन्टेनरहरु नेपाल चीन जोड्ने मितेरी पक्की पुल बर्षातको कारण भत्किदा स्थायी रुपमा उक्तट पुलेको निर्माण नहुँदासम्का लागि एकतर्फी मात्र वारपार हुनसक्ने अस्थायी फलामे पुलबाट आवतजावतको व्यवस्था मिलाइएको कारण केही समयसम्म दैनिक करिब ३०–४० सम्म संख्यामा मात्र मालबाहक ट्रक कन्टेनरहरु चीनतर्फ प्रवेश गर्ने अवस्था रहेको थियो ।

यसका कारण नेपालको सीमा क्षेत्रमा दैनिक जाने कन्टेनरहरु करिव ४०० सम्मको संख्यामा नेपाल तर्फको सडकमै पार्किङ गराउनुपर्ने बाध्यात्मक अवस्था रहेकोमा सडकमै पार्किङ गर्दा अन्य सवारी साधनहरु समेतलार्य आवत जावतमा असर परेको व्यापक जनगुनासोलाई मध्यनजर गरी मिति २०७६ वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षिय बैठकबाट रसुवागढी क्षेत्रमा कम्तीमा १०० ट्रक कन्टेनरहरु पार्किङ क्षमता सहितको पार्किङस्थल गोसाईकुन्ड गाउँपालिकाको संयोजनमा निर्माण गरी पार्किङ व्यवस्थापन मिलाउने मात्र निर्णय भएको र यस बाहेक सीमा नाका व्यवस्थापन समिति बनाउने वा अन्य कुनै प्रकारको निर्णय भएको छैन ।’

अन्य कुनै निर्णय नभएको भन्ने प्रजिअको भनाई आफैमा झुटो ठहर्छ । किनभने, कार्यविधिको बुँदा नम्बर दुईमा भनिएको छ,‘काठमाडौं रसुवागढी हुँदै चीनको केरुङ शहर सम्म चल्ने सबै ट्रक तथा कन्टेनरहरुलाई डायल नं लगाउने ।’ रसुवा नाकामा पर्ने गोसाइकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्बु तामाङको संयोजकत्वमा ११ सदस्यीय कन्टेनर व्यवस्थापन समिति बनाएर सिन्डिकेट चलाइएको हो ।

तामाङको नेतृत्वमा नेपाल कम्युनष्टि पार्टीका रसुवा अध्यक्ष कर्णेल लामासहित तीन, नेपाली काँग्रेसका रसुवा जिल्ला सभापति पेम्बा छिरिङ तामाङसहित तीन, रसुवा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जीब अमात्यसहित तीन र सीमापार व्यापार संघका कार्यवाहक अध्यक्ष कामी नुर्बु तामाङ रहेको समिति बनेको छ । समितिमा रहेकाहरुले एक महिनामै राम्रो आर्थिक जोहो गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्