Logo

संगठित अपराधमा कलाकार



हलिउड र बलिउडका हस्तीहरु आपराधिक क्रियाकलापमा मुछिएको खबर बेला बेलामा आइरहन्छ । त्यहाँका चलचित्र नगरीमा लोकप्रीय कलाकारहरु संगठित गिरोहका नाइकेसँगको साँठगाँठले पक्राऊ समेत परेका घटना खुलेका थिए । अहिले त्यो रोग नेपालमा सरेको छ । कलाकारहरु संगठित अपराधीसँग मिलेर आपराधिक क्रियाकलापमा सक्रिय हुन थालेपछि कला क्षेत्र बदनाम हुन थालेको छ ।

आनी देखि सुदर्शन

विदेशी भूमिबाट नेपालमा पटक पटक गरी लोकप्रीय गायिका आनी छोइङ डोल्माले १८ करोड ३१ लाख रुपैयाँ बराबरको अमेरिकी डलर नेपाल भित्राइसकेकी छिन् । हङकङबाट भित्राइएको उक्त रकमको स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान थालेको छ । नेपाल राष्ट्र बैंकले आनीको यति ठूलो परिणाममा रकम आएपछि निगरानी बढाएको थियो ।

फूलको आँखामा फूलै सँसार, काँडाको आँखामा काँडै सँसार गीतभन्दा ठिक विपरित लाग्ने आनीको क्रियाकलापले उनको लोकप्रीयता घटाएको छ । सम्पत्तिको स्रोत नखुलेमा उनी संगठित अपराधको गिरोहसँग जोडिएको प्रमाणित हुन सक्छ । समाजमा सङ्गलो देखिने धमिलो काम गर्नेहरुको सूचीमा आनी पनि पर्न सक्छिन् ।

चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम मानव तस्करीमा संलग्न पाइए । दुवै हात गुमाएका सुदर्शन चलचित्रका मात्र नभई वास्तविक जीवनकै नायक जसरी मिडियामा चर्चामा आए ।

चलचित्र नायिका रेखा थापाले सुदर्शनसँग आफूलाई जोडेर खस्किएको लोकप्रीयता बढाउन खोजिन् । सुदर्शनसँग अफेयरको चर्चाले बजार तात्तियो । सस्तो लोकप्रीयता टिकेन । सुदर्शन नायकबाट खलनायकमा गनिए । मानव तस्करीको संगठित गिरोहका नाइके रहेछन् उनी ।
अमेरिका र क्यानडा लाने भन्दै नेपाली युवायुवतीसँग पैसा लिएको पत्ता लाग्यो । क्यानडा बस्दै आएका गौतममाथि इन्टरपोलले रेड कर्नर नोतिश जारी गरेको छ । उनी इन्टरपोल सदस्यराष्ट्रमा जहाँसुकै पक्राऊ पर्न सक्छन् ।

मानव तस्करीमा कलाकार

कतिपय कलाकारहरुले मानव तस्करीलाई आम्दानीको श्रोत बनाउने गरेका छन् । चलचित्र निर्माण गर्ने वा विदेशमा कार्यक्रमका लागि भन्दै आफूसँग केही मानिस लाने र उतै छाडेर आउने समेत गरे ।

नेपाली कलाकारहरुको गतिविधिका कारण यूरोप, अमेरिका, अष्ट्रेलियालगायतका मुलुकले भीसामा कडाई समेत ग¥यो । निश्चित रकम लिएर आफूसँग केही व्यक्ति लगेर छाड्ने गतिविधिमा राजेन्द्र खड्गी पक्राऊ परे ।

कुनैबेला नेपाली फिल्ममा खलनायकमा एकछत्र राज गरेका खड्गी वास्तविक जीवनमा समेत खलनायक भए । कोरियामा डकुमेन्ट्री बनाउने भन्दै ११ नेपाली लिएर गएका थिए । सबैलाई उतै छाडेर फर्किएपछि कोरियाली दूतावासको उजूरीका आधारमा पक्राऊ परे ।
खड्गीविरुद्ध अदालतले फैसला गरेपछि जेल चलान भएका छन् । उनी केन्द्रीय कारागारमा छन् ।

खड्गी मात्र नभई नाम चलेका निर्देशक, नायक नायिका समेत मानव तस्करीमा मुछिएका थिए । उनीहरुलाई कतिपय देशले भीसा समेत नदिने अवस्था बनेको छ ।

अपराधमा कलाकार

हलिउड र बलिउडमा संगठित अपराधीका नाइकेहरुको प्रभाव छ । बलिउडमा दाउद इब्राहिम र छोटा राजन समूह हर्ताकर्ता रहेको चर्चा कुनैबेला चलिरहन्थ्यो । दाउद, राजन र छोटा सकिल जस्ता अन्डरवल्र्ड डनहरुको नाम चलेका नायिकाहरुसँग प्रेमसम्बन्ध समेत चल्यो । दाउदले नायिका मन्दाकिनीसँग विवाह गरे ।

नेपालमा पनि कलाकाहरुको आपराधिक गतिविधि सतहमा आउन थालेको छ । संगठित अपराधको गिरोहले कलाकारहरुलाई दुरुपयोग त गरिरहेका छैनन् ? एकपछि अर्को गरी चर्चामा आएको घटनाले यस्तै संकेत गर्दछ ।

दुनियाँलाई सकारात्मक बन्न सन्देश प्रवाह गरेकाहरु नै नकारात्मक गतिविधिमा संलग्न हुँदा समाजले कस्लाई पत्याउने ? को सही को गलत ? सर्वसाधारणका लागि विश्वास गर्न कोही लायक नहुने अवस्था बन्न पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot