गुठी संस्थान अन्र्तगतको मच्छिन्द्रनाथ गुठीले हालसम्म ६०१ रोपनी एक आना दुई पैसा जग्गा रैतान परिणत गरी दुई करोड ८८ लाख चार हजार दुई सय प्राप्त गरेको छ । एक दशक अघि विभिन्न समयमा रैतान गर्दा जम्मा भएको रकम बैंकमा राख्दा दोम्बर नै भएको मान्दा पनि पाँच करोड भएको मान्नुपर्छ ।
ललितपुरको महत्वपूर्ण स्थानहरुमा रहेका जग्गाको हालको मूल्य अनुसार कतिपयको एक रोपनीकै पाँच करोडभन्दा बढी पुगिसकेको छ । रैतान भएका ती जग्गामध्ये कुनैपनि रोपनीको करोड रुपैयाँ भन्दा कमले खरिद गर्न सकिदैन । वर्तमानको जग्गाको मूल्यलाई हिसाब गर्दा गुठी संस्थानले मच्छिन्द्रनाथ गुठीको छ सय रोपनी जग्गा गुमाएको मान्नुपर्छ ।
ललितपुरको महत्वपूर्ण ठाउँहरुमा रहेको मच्छिन्द्रनाथ गुठीको जग्गा विगतमा रैतान खोल्दा व्यक्तिका नाममा दर्ता भएको हो । व्यक्तिले कमाई खाएको जग्गावापत् तीरो तिरेर गुठी संचालन गर्ने पद्धति बनाइएको थियो । तर, योजनावद्ध तरिकाले गुठी माँस्ने र व्यक्तिलाई पोस्ने गर्दा मच्छिन्द्रनाथ गुठी पनि तारोमा परेको थियो ।
संकटमा पर्न सक्छ रथजात्रा
रातो मच्छिन्द्रनाथ तथा मिननाथको रथहरु निर्माणमा मात्र वार्षिक २६ लाख निर्माण खर्च हुने गर्छ । योसँग जोडिएको भोटोजात्रालगायतका पूजाहरुको खर्च अलग्गै छ । दिनानुदिन खर्च बढ्दै जाँदा गुठी संस्थानलाई धान्न कठिन हुनसक्छ । किनभने, संस्थानले देशका धेरैवटा जात्रा र पर्वहरु संचालनमा खर्च दिनुपर्ने अवस्था छ ।
गुठी संस्थान अन्र्तगतको मछिन्द्र गुठीले पूजा, नित्य पूजा, र रथयात्रा संचालन गर्दछ । रथ निर्माणका सामाग्रीहरु अभाव हुँदै जानु र आधुनिकिकरणले परम्परागत संस्कृति संकटमा पर्नुले मच्छिन्द्रनाथको पर्व र रथजात्रा समेत संकटमा पर्न सक्छ ।
गुठीको जग्गा माँसिदै जानु, गुठीको मर्मविपरित्का कदमहरु विभिन्न समयमा बनेका सरकारहरुले चाल्नुले परम्परागत संस्कृति र संस्कारमाथि प्रहार भइरहेको छ । संस्कृतिमाथिको प्रहार पहिचानमाथिको प्रहार हो भन्ने बेलैमा चेत नआए अस्तित्व नै संकटमा पर्न सक्छ ।