Logo

बाबुरामद्वारा उपेन्द्रलाई सरकार छाड्न दबाब



काठमाडौं, ३० जेठ । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई औपचारिक रुपमा सत्तापक्ष भएका छन् । एकीकरण भएपछि समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भयो । अब बाबुराम प्रतिपक्षीबाट सत्तापक्ष भए ।

समाजवादी पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् । बाबुराम सत्तापक्ष भएपनि प्रतिपक्षकै शैलीमा छन् । बाबुरामले अर्का उपाध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न भनिसके । दुई पार्टीबीचको एकीकरणकै बखत उपेन्द्रले सरकार छाड्नुपर्ने शर्त राखिएको बुझिएको छ । निर्वाचन आयोगमा दल दर्ताका बखत बाबुरामले उपेन्द्रलाई सरकार छाडेर सशक्त प्रतिपक्षीको भूमिका खेल्नुपर्ने रणनीति सुनाएका थिए ।

कुशल रणनीतिका मानिने बाबुरामले देशमा प्रतिपक्षी कमजोर हुँदा समाजवादी पार्टीले सशक्त भूमिका निभाएर शक्ति संचय गर्नसक्ने प्रस्ताव उपेन्द्रलाई गरेका छन् । तर, उपेन्द्र यादव सरकार छाडिहाल्ने पक्षमा छैनन् ।

सरकारमा बस्ने नबस्ने विषयले समाजवादी पार्टीमा विवाद बढ्न सक्छ । दुवै दलभित्र एकीकरणकप्रति असन्तुष्टहरुको कमी छैन । बाबुरामसँगको एकतालाई कतिपय नेता कार्यकर्ताले रुचाएका छैनन् । बाबुरामको दलमा त्यस्तै छ ।

सरकार छाडेर अर्को चुनावसम्म संगठन विस्तार गर्ने र बलियो मुद्यासहित अगाडि बढ्ने बाबुरामको रणनीतिमा उपेन्द्र सहमत हुने नहुने हेर्न बाँकी छ । सत्ता छाड्न उपेन्द्रलाई दबाब बढेपनि उनले हतार गर्दा हानी पुग्ने तर्क गर्दै आएको निकटस्थले बताए ।

समाजवादी पार्टी नेपालका युवा नेता नारायण तिवारीले पार्टी सत्तामा बसिरहन नहुने बताए । जनजिविकाको सवाल उठाउन सरकारबाट बाहिरिएर सशक्त प्रतिपक्षीमा नेतृत्वदायी भूमिका निभाउनुपर्नेमा जोड दिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot