Logo

विवादमा गुठी विधेयक, जुरुक्क उठ्यो काठमाडौं



काठमाडौं, ३१ जेष्ठ । सरकारले ल्याएको गुठी विधयेक विरुद्ध काठमाडौं उपत्यकाका जनता जुरुक्क उठेका छन् । गुठीलाई सरकारका मन्त्री देखि सत्तारुढ सांसदहरुले सामन्तवादको अवशेष र धर्मको नाममा किसान मार्ने प्रथा भनेपछि आन्दोलनको आगोमा घ्यू थपिएको छ ।
काठमाडौं उपत्यकामा शुक्रबार साँझ मसाल जुलुस निस्किएको छ । विधेयक फिर्ता नलिए आन्दोलनको आँधीबेहरी सृजना गरिने चेतावनी आन्दोलनकारीले दिएका छन् ।

बिहिबार मङ्गलबजारमा हजारौं नागरिक उपस्थित भई विधयेकको विरोध गरे । विधयेकले धर्म, संस्कृति माँस्न खोजेको भन्दै बुद्धिजीवीले समेत विरोध गर्दै आएका छन् । परम्परागत जात्रा, पर्वमाथि समेत ठेस पुग्नेगरी विधेयक ल्याइएको भन्दै अभियन्ताहरुले माइतीघरबाट शुरु गरेको आन्दोलन विस्तारै फैलदै गएको छ । तैपनि सरकारमा रहेकाहरु गुठी विधेयकको बचाऊ गर्दै गुठी प्रथालाई सामन्तवादी स्वरुप भन्न छाडेका छैनन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गुठी प्रथालाई सामन्तवादी स्वरुप भनेका छन् । उनले बिहिबार दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ । सत्तारुढ दलका सांसदहरुले विवादास्पद अभिव्यक्ति दिन थालेका छन् । नेकपा सांसद मेटमणि चौधरीले किसानको जग्गा खोसेर गुठी बनाइएको तर्क गरेका छन् ।

के हो गुठी

गुठी व्यक्तिगत नभई समग्र समाजको हितका लागि उपयोग हुने सम्पत्ति हो । यसको अपव्याख्या गरी विभिन्न समयमा स्वार्थी समूहले गुठीको जग्गा हडप्दै आएका छन् ।

राणा शासनको अन्तपछि गुठीको जग्गा कब्जा गर्ने र हडप्ने चलखेल भइरहे । सामन्तवादको अन्त गर्ने भन्दै गुठीमाथि निरन्तर प्रहार भयो ।
गुठी जग्गा रैकर नम्बरी बनाउन विभिन्न समयमा कानुन ल्याइयो । व्यक्तिको नाममा जग्गा पु¥याएर आर्थिक चलखेल भइरह्यो ।

अहिले सरकारले ल्याउन लागेको विधयेक पनि गुठी जग्गालाई रैतान गर्ने उद्देश्यले प्रेरित देखिन्छ । गुठीका सम्पत्ति माँसिदै जाँदा सरकारले त्यसको रक्षा गर्नुपर्नेमा उल्टै व्यक्तिको नाममा जग्गा पु¥याउने चलखेल देखिएपछि गुठीसँग जोडिएका परम्परागत जाति र समुदाय सडकमा उत्रिन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot