Logo

गुठी विधेयक सच्याउँछौँ, जनता भड्काउने काम नगरौँ : प्रधानमन्त्री ओली



असाज १, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले गुठी विधेयकमा भएका कमी कमजोरी सच्याउन सकिने बताएका छन् ।

युरोप भ्रमण सकेर भर्खरै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कुनै पनि विधेयक शतप्रतिशत सही नबनेको पनि हुन सक्ने भन्दै आवश्यकताअनुसार सच्याउन सकिने बताएका हुन् ।

गुठी विधेयकको विषयलाई लिएर केही पक्षले जनता भड्काउन खोजेको भन्दै ओलीले असन्तुष्टी व्यक्त पनि गरे । “विरोधको भावनाले जनता भड्काउन खोज्नु हुँदैन, अब जनता भड्किदैनन् पनि । कमजोरी भयो भने सरकारले सच्याइहाल्छ नि यो जनताकै सरकार हो, जनताप्रति प्रतिवद्ध भएर काम गर्छ ।” ओलीले भने ।

“हाम्रो संस्कृति र परम्परासँग जोडिएका गुठीहरुको विषयमा कुरा बेग्लै हुन्छ, सरकारले जे आवश्यकता पर्छ त्यो गर्छ, सरकार जनताको हितमा नै काम गर्छ ।” उनले थपे । प्रधानमन्त्री ओली नौ दिने विदेश भ्रमण सकेर भर्खरै स्वदेश फर्किएका छन् ।

युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका थिए ।

विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओलीले भ्रमणको उपलब्धिबारे जानकारी गराउनुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्रीले देशका केही समसामयिक विषयमा पनि मुख खोल्नुभयो ।

प्रधानमन्त्री ओलीको यो भ्रमणलाई तयारीविनाको फजुल भ्रमणका रुपमा समेत कूटनीतिक क्षेत्रबाट आलोचना भइरहेको थियो । सत्तापक्षका नेता एवं सरकारको दाबी चाहिँ कूटनीतिक सम्बन्धमा भ्रमण उपलब्धीपूर्ण रहेको दाबी गरिएको छ । भ्रमण सकेर आएका ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भ्रमण उपलब्धिपूर्ण भएको दावी गर्नुभयो । आफूले नेपालमा नीतिहरु, उपलब्धिहरु, आवश्यकताहरुलार्य सान्दर्भिक ढंगले सामयिक ठाउँहरुमा उठाएको ओलीले बताउनुभयो ।

गोरखा सैनिकहरुका सम्बन्धमा नेपाल, भारत र बेलायतवीच भएको सन् १९४७ को त्रिपक्षीय सन्धीको पुनरावलोकन गर्ने नेपालको प्रस्तावलाई बेलायतले स्वीकार नगरेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ । बेलायतले सजिलोसित स्वीकार नगरेकै कारण यो प्रस्ताव संयुक्त वक्तव्यमा नसमेटिएको प्रधानमन्त्री ओलीको भनाइ छ । समग्रमा भ्रमणको जानकारी गराउनुभएका ओलीले देशको केही समसामयिक विषयमा पनि मुख खोल्नुभयो ।

प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापन बारेको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने धारणा राख्नुभयो । वाइडबडी प्रकरणबारे बेलाबखत विरोधाषपूर्ण अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही विषयमा फेरि एकपटक मुख खोल्नुभयो ।

यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बचाऊ गर्दै बोल्ने क्रममा प्रधानमन्त्री ओलीले तत्कालीन मन्त्री अधिकारी निर्दोष रहेको बतउनुभएको थियो । यसै सन्दर्भमा युरोप भ्रमणबाट फर्केका प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलमा आइतबार पत्रकार ऋषि धमलालो प्रश्न गरेका थिए ।

जवाफमा ओलीले कसैलाई दोषी वा निर्दोष नभनी छानबिन भइरहेको जानकारी दिनुभयो । छानविन भइरहेकाले यस विषयमा आफूले अरु केही नबोल्ने जवाफ ओलीले दिनुभएको थियो ।

प्रधानमन्त्री ओली गत जेठ २५ गते युरोप भ्रमणमा जानुभएको थियो । प्रधानमन्त्री ओलीलाई बिमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णवहादुर महराल लगायतले स्वागत गर्नुभएको थियो । उहाँको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्