Logo

हल्लाको पछि नलागौँ, एसइइको नतिजा असार दोस्रो साता



असार २, काठमाण्डौ । अघिल्लो वर्षभन्दा यसपटक माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा ढिलो प्रकाशित हुने भएको छ । प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गरेका कारण नतिजा प्रकाशनमा ढिलाई हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले असार दोस्रो साता नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको छ ।

असार महिना सुरु भएसँगै माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजाको चर्चा सुरु भएको छ । विगतका वर्षमा असार पहिलो साता नै नतिजा सार्वजनिक हुने गरेको थियो । तर यसपटक भने राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । वोर्डका अध्यक्ष चन्द्रमणि अधिकारीले सबै उत्तरपुस्तिका रुजु गर्ने गर्ने काम भइरहेको बताउँदै असार दोस्रो साताभित्रमा नतिजा प्रकाशन गरिने पुष्टी गरेका हुन् ।

गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ ।

यसअघि केही संचारमाध्यम र सामाजिक संजालमा राष्ट्रिय परीक्षा बोर्डको सूचना भन्दै नतिजा प्रकाशनको मिति नै सार्वजनिक भएपछि नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरु भ्रममा परेका थिए । तर बोर्डका अध्यक्ष अधिकारीले आफूहरुले कहिल्यै पनि गते नै तोकेर नतिजा प्रकाशनको सूचना नदिने भएकाले त्यस्ता गलत समाचारको पछि नलाग्न सुझाब दिए ।

यसअघि विकास क्षेत्रका आधारमा हुँदै आएको परीक्षा यसवर्ष प्रदेशका आधारमा गपरिएको थियो । परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी थिए । परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।

दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्राको सहभागीता रहेको परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी थिए । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्