Logo

भारतीय विदेशमन्त्री जयशंकरले भाजपाको सदस्यता लिए, राज्यसभाको चुनाव लड्ने



धेरैलाई छक्क पार्दै भारतको विदेशमन्त्री बनेका सुब्रमण्यम जयशंकरले भारतीय जनता पार्टीको सदस्यता लिएका छन् । सदस्यता लिएको केही घन्टामै उनलाई राज्यसभाको उम्मेदवारको टिकट दिइएको छ ।

५ जुलाईमा हुने गुजरातको दुई सिटका लागि हुने राज्यसभाको उपचुनावमा जयशंकर उम्मेदवार बन्ने भएका छन् । राज्यसभाका लागि हुने चुनावमा भाजपाको भारी मत भएकाले उनको जीत निश्चित छ । संसद सदस्य नभई मन्त्री बनाइएका जयशंकरलाई भारतको संविधान अनुसार छ महिनाभित्र संसद सदस्य बन्नुपर्ने हुन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भाजपाका कार्यवाहक अध्यक्ष जेपी नड्डाले जयशंकरलाई सदस्यता दिएका थिए । जवारहलाल नेहरुबाट विद्यावारिधी गरेका उनी लामो समय परराष्ट्र सेवामा रहेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुचाएका उनी विदेश सचिव समेत बनेका थिए । मोदीले उनलाई विदेशमन्त्री बनाएका थिए । Photo: AFP



प्रतिक्रिया दिनुहोस्