Logo

गुठीसम्बन्धी विधेयक औपचारिकरुपमा फिर्ता



सरकारले संसदमा दर्ता गराएको गुठीसम्बन्धी विधेयक मंगलबार औपचारिकरुपमा फिर्ता लिएको छ । राष्ट्रियसभामा दर्ता भएको विधेयक फिर्ता लिइएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विधेयक फिर्ताको प्रस्ताव शुक्रबार नै संसदमा दर्ता गराइसकेको थियो । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता गर्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

मन्त्री अर्यालको विधेयक फिर्तासम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । सरकारले गुठी विधेयक प्रतिनिधि सभामा नभई राष्ट्रिय सभामा बैशाख १७ गते दर्ता गरेको थियो । सरोकारवालासँग कुनै छलफल नै नगरी ल्याइएको विधेयक एकैपटक संसदमा टेबल भई बैशाख १९ गते विधेयकको प्रति सांसदहरूलाई दिइएपछि यसमा राखिएका प्रावधानबारे जानकारी भएको थियो ।

बैठकमा मन्त्री अर्यालले धर्म र परम्परा मास्ने गरी गुठी विधेयक ल्याइयो भनी गलत प्रचार गरिएकामा दुःख व्यक्त गर्दै सनातन धर्मको संरक्षण गर्न नै विधेयक ल्याइएको र साविकदेखि चलेको प्रथा, परम्परा सबै विधयेकमा व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

‘नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । त्यसअघि बैठकमा सांसदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार ११ गते बिहान ११ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot