काठमाडौं, १७ असार । सिसडोलवासीले काठमाडौं उपत्यकाको फोहोर फाल्न गरिरहेको अवरोध हटेपछि मङ्गलबारबाट फोहोरका सवारी साधन सुचारु भएका छन् । र वातावरण विभागसहितको टोलीले सिसडोल व्यवस्थापन संघर्ष समितिसँग सहमति गरेपछि फोहोर फाल्न गरिएको अवरोध हटेको हो ।
संघर्ष समितिका ज्ञानेन्द्र प्रकाश गजुरेलले १५ दिनभित्र विगतमा फोहोर व्यवस्थापन र स्थानीयवासीको व्यवस्थापनबारे बनेको प्रतिवेदन अनुसार जायज माग सम्बोधन गर्ने सहमति भएको बताए । विगतमा तयार भएको रोनाष्टको प्रतिवेदन र फोहोर व्यवस्थापन समितिको प्रतिवेदनलाई केलाएर मापदण्ड बनाएर व्यवस्थापनको काम अगाडि बढाउन काठमाडौं महानगरपालिका सहमत भएको छ ।
सहमतिका लागि भएको वार्तामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, वातावरण विभागका प्रतिनिधि, आन्दोलनरत संघर्ष समितिका प्रतिनिधि सहभागी थिए । दुवै पक्ष फोहोर व्यवस्थापनको समस्या दीर्घकालिन समाधानमा सहमत भएका छन् । त्यसबारे तत्काल गृहकार्य गर्ने मेयर शाक्यले प्रतिवद्धता व्यक्त गरेको गजुरेलले बताए ।
एक सातायता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन नसक्दा प्रदूषण बढेको छ । शहरका मुख्य स्थानहरुमा फोहोर थुप्रिएर दुर्गन्धित भएको छ ।
सिसडोलवासीले बारम्बार फोहोरले वातावरणमा असर परेको भन्दै विभिन्न माग राखी फोहोरको सवारी साधान रोक्ने गर्दै आएका छन् । सरकारले यसरी नै अल्पकालिन सहमति गरेर फोहोरको सवारी साधनलाई सुचारु तरिकाले आवत्जावत् गराउने गरेको छ ।