Logo

कांग्रेसमा विवाद चुलिँदै, अन्योलमा १४ औँ महाधिवेशन



असार १७, काठमाणडै । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि यसै वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने छ । तीनै तहको निर्वाचनमा पराजय भोगेपछि कमजोर बनेको कांग्रेसको नेतृत्वले समयमै महाधिवेशन गर्नका लागि भने चासो देखाएको छैन । जसले गर्दा पार्टीभित्र विमति बढ्दै गएको छ । समयमै महाधिवेशन गर्नुपर्ने र अवधि लम्ब्याउनुपर्ने दुई थरी आवाज उठ्न थालेको छ ।

कांग्रेसमा १४ औं महाधिवेशन कहिले गर्ने भन्नेमा आन्तरिक टकराव देखिन थालेको छ । महाधिवेशन गर्ने विषयमा सभापति शेरबहादुर देउवा पक्ष र अन्य गुटहरुबीच विमति देखिएको छ । देउवा पक्षले विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल लम्ब्याउन चाहेका छन् । चुनावमा पराजित भएपछि पार्टीभित्रैबाट चर्को आलोचना खेपेका देउवाले एक वर्ष भए पनि सभापतिको पद जोगाउने उपाय खोजेका छन् । जसलाई उनी निकट मानिने नेताहरुले समर्थन गरिरहेका छन् । देउवा पक्षधर मानिने नेता गोपालमान श्रेष्ठले विधानअनुसार सभापतिले एक वर्ष समय थप्न पाउने भएकाले अर्को वर्ष मात्रै महाधिवेशन गर्दा पनि केही फरक नपर्ने तर्क गर्छन् ।

तर देउवाइतर नेताहरुले भने जसरी भए पनि चार वर्षभन्दा बढि एक दिन पनि अहिलेको कार्यसमितिको अवधि लम्ब्याउन नहुनेमा जोड दिइरहेका छन् । विधानमा एक वर्ष थप्ने व्यवस्था भए पनि अहिले त्यसका लागि उचित कारण नै नभएको युवा नेता प्रदिप पौडेलको तर्क छ ।

सभापति देउवाको चर्को विरोध गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि समय नथपिकन महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल लम्ब्याउन अहिले जरुरी नभएको पौडेलको भनाई छ ।

पार्टी विधानको दफा ४३ ले ‘असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ’ भन्ने उल्लेख गरेको छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा पनि ५ वर्षभित्र केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

विशेष कारण परे ६ महिना बढाउन सकिने व्यवस्था संविधानमा उल्लेख छ । देउवाले यही प्रावधान टेकेर थप डेढ वर्ष बढाउन चाहेका छन् । तर संस्थापन इतरपक्षले देउवाको चाहना पूरा हुन नदिने भन्दै दबाब दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्