असार २०, काठमाण्डौ । नुवाकोटका सिडोलबासीले आफूहरुसँग भएको सहमति तोडिएको र जबरजस्त दुर्गन्धमा बस्न बाध्य पारिएको भन्दै पटक पटक आन्दोलन गर्दै आएका छन् । २०६२ सालमा २ वर्षका लागि फोहोर व्यवस्थापन गर्न सहमति जनाएका उनीहरुले २ वर्ष बितेपछि काठमाडौं उपत्यकाको फोहोर अब नफाल्न पटक पटक अपिल गरेका थिए । उनीहरुको आग्रह उपत्यकाका नगरपालिकाहरुले अटेर गरेपछि उनीहले अहिलेसम्म २० पटक भन्दा बढि फोहोर फाल्न रोकेका छन् ।
कहिले कहिले भयो अवारोध ?
–२०६२ सालमा भएको सम्झौता सकिएपछि सिसडोलबासीले पहिलो पटक २०६४ कार्तिक १६ गते आन्दोलन गरे । आन्दोलनका कारण काठमाडौंको फोहोर केहि दिन उठेन ।
– २०५ माघ ४ गते फेरी ९ बुँदे माग राख्दै स्थानीयले फोहोर उठान अवरोध गरे ।
–२०६५ माघ ४ गते २ दिन फोहोर फाल्न रोके ।
–२०६६ पुष १९ गते आफूहरुको माग कार्यान्व्यन भएको भन्दै फेरि फोहोर फाल्न रोकियो ।
–२०६६ साल माघ ३ गते पुनः १५ बुँदे माग राखेर आन्दोलन भयो । जसकार कारण ३ दिन काठमाडौंको फोहोर उठेन ।
त्यसपछि हरेक वर्ष २०६७, ६८ देखि ७५÷७६ सम्म कम्तिमा पनि दुई पटक सिसडोलबासीले फोहोर फाल्न रोक्दै आएका छन् । सम्झौता अवधि सकिएपछि पनि पेलेर फोहोर फालियो र उचित व्यवस्थापन गरिएन भन्दै उनीहरुले आन्दोलन चर्काउँदै आए ।
–२०७५ मंसिर १० गते तरकारीका कारण १ दिन फोहोर फाल्न रोकियो
–२०७५ चैत १९ गते फोहोर फाल्ने गाडीले एक बालकलाई किचेका कारण २ दिन फोहोर फाल्न रोकियो।
–२०७६ वैशाख १६ गते आफूहरुको खेतमा समेत फोहोर फालिएपछि मुआब्जा माग्दै स्थानीयले २ दिन अवरोध गरेका थिए ।
–२०७६ असार १० गते पुरानो सहमति कार्यान्व्यन नभएको भन्दै ५ दिनसम्म फोहोर फाल्न रोकिएको छ ।
सिसडोलबासी र उपत्यकाका नगरपालिकाबीचको असमझदारीका यसरी पटक पटक फोहोर फाल्न रोकिएको छ । तर, महानगर मन्त्रालयले आन्दोलन मथ्थर पार्न टालटुले सहमति गर्ने सिवाय खासै केहि गरेको छैन । स्थानीयका अनुसार फोहोरमा समेत घिनलाग्दो राजनीति गरिराखिएको छ जसका कारण अवस्था जटिल बन्दै गएको छ ।
१४ वर्षदेखि जबरजस्त उपत्यकाको फोहोरको दुर्गन्ध सहदै आएका यस क्षेत्रका बासिन्दामा यहि फोहोरका कारण विभिन्न रोगबाट समेत ग्रसित बन्न थालेका छन् । तर यसप्रति कसैले पनि ध्यान नै दिएको छैन । काठमाडौं महानगर त झनै हरेक सम्झौतातोड्दै पुरै बेमतलवी बनेर बसेको छ ।
२–४ दिन फोहोर नउठ्दा दुर्गन्धित हुने गरेको काठमाडौं उपत्यकामा फोहोरको समस्याले अझै गम्भीर रुप लिने संकेत देखिएको छ । नुवाकोटका सिसडोलबासीले आफूहरुको घर बासै उठाउने गरि फालिराखिएको फोहोर चाडै रोक्ने चेतावनी दिन थालेका छन् । जसका कारण पुरै सडक फोहोरले ढाक्ने र काठमाडौंमा महिनौसम्म दुगन्ध फैलिने खतरा बढेको छ ।
बेलाबेलामा हुने समस्यालाई अस्थायी रुपमा समाधान गरिँदै आएको छ । तर दिर्घकालिन समाधानको उपाय खोजिएको छैन । नुवाकोट र धादिङको सिमा क्षेत्रमा पर्ने बञ्चरे डाँडामा फोहोर फाल्नका लागि चर्चा मात्रै भएको छ ।
कामको सूरुवात नै हुन सकेको छैन । नुवाकोटको सिसडोलमा भइरहेको विवाद र अवरोधले सम्बन्धित निकायलाई विकल्प खोज्न दबाब त दिएको छ । तर सम्बन्धित निकाय जिम्मेवार बन्न सकेका छैनन् ।
सिसडोलबासीले फोहोर फाल्न ठप्प पारे भने राजधानीको हालत के होला ? त्यसको विकल्पको खोजी कहिले हुन्छ ? काठमाण्डौ महानगरपालिका अन्तरगतको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न सकिने विकल्प रहेको बताए । तर यसका लागि काम भने हुन सकेको छैन ।
गएको बैशाखमा सिस्डोलको बिकल्पको रुपमा बन्चरे डाडामा ल्याण्डिफल साइड बनाउनको लागि ठेक्का सम्झौता भएको थियो । ल्याण्डफिल निर्माणको लागि कोसी न्यौपाने एण्ड लुम्बिनी जेभीलाई जिम्मा दिइएको छ । भ्याट बाहेक ३४ करोड रुपैंयाको लागतमा ल्यान्डफिल १ वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । तर यसको काम अत्यन्त सुस्त देखिन्छ ।
काठमाडौं महानगरपालिका भने विकल्प खोज्नुको साटो सिसडोलबासीलाई पेल्ने रणनीतिमै बढि केन्द्रित देखिन्छ ।
अहिले बञ्चरे डाडाको चर्चा चल्दै गर्दा सिसडोलको फोहोर व्यवस्थापन नगरिएकै कारण त्यहाका स्थानीय आन्दोलिन बनिरहेका छन् । अहिले नै महानगर र मन्त्रालयले बैकल्पिक उपाय नअपनाए यसले भयावह स्थिति निम्त्याउने खतरा बढेको छ ।