असार २०, काठमाण्डौ । नियम पालना गराउने र देशलाई सकारात्मक दिशातर्फ डोर्याउन भूमिका खेल्नुपर्ने व्यक्तिहरु नै एकपछि अर्को गर्दै बदनाम भइरहेका छन् । पछिल्ला केही वर्षयता उच्च तहका अधिकारीहरु भ्रष्टाचार र अपराधमा संलग्न हुने गरेको पाइएको छ । भिआइपी तर नियमविपरित काम गरेर दोषी ठहर भएकाहरु जेलमा पूग्ने संख्या बढिरहेको छ ।
बिहीबार नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरीले सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरे । आत्मसमर्पण गरेसँगै ठकुरी डिल्लीबजार कारागार चलान भएका छन् । सुडानको डार्फर मिसनमा बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा यसअघि नै जेल सजाय सुनाइएका ठकुरी आत्मसमर्पण गरेलगत्तै जेल चलान भएका हुन् ।
अदालतसामू आत्मसमर्पण गरेका टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी पनि २०७४ फागुन १४ गते पूर्पक्षका लागि जेल चलान भए । हाल उनी उपचारको क्रममा वीर अस्पतालमा छन् । टीकापुर घटनापछि फरार चौधरीले अदालतसामू आत्मसमर्पण गरेका हुन् ।
लगतै न्यायाधीश परशुराम भट्टराईको इजलासले भएको बयानमा चौधरीले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका थिए । जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डका आरोपी पूर्वसांसद एवं राज्यमन्त्री सञ्जयकुमार साह टकलालाई जिल्ला अदालत धनुषाले असार १७ गते जन्मकैदको सजाय सुनायो । सिंघानिया हत्याको करिब १० वर्षपछि १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनुवाइ सुरु भएको थियो ।
मुद्दाको सुनवाइ गर्दै धनुषा जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वसांसद सञ्जयसहित २ जनालाई जन्मकैदको सजाय सुनाएको हो । अदालतले हत्यामा संलग्न रहेको भन्दै मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ ।
सञ्जयले भनेपछि आफूले सिंघानियाको हत्या गरेको अदालत समक्ष बयान दिएका थिए । साह नख्खु कारागारमा छन् भने लामा पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा छन् । शशस्त्र प्रहरीका नायब महानिरीक्षक रञ्जन कोइराला पत्नी गीताको हत्या गरेको अभियोगमा डिल्लीबजार सदरखोर कारागारमा जेलजीवन बिताइरहेका छन् ।
कोइरालाई जन्मकैद फैसला सुनाइएको हो । ६ वर्षदेखि अलग बस्दै आएकी श्रीमती गीतालाई डीआईजी कोइरालाले गत २०६८ पुस २७ गते काठमाडौँको पासीकोटस्थित निवासमा हत्या गरी मकवानपुरको पालुङ नजिकको मेत्राङमा लगेर शव जलाएका थिए ।
तत्कालिन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहा पनि केन्द्रीय कारागारमा जेल सजाय भोगिरहेका छन् । कुशवाहालाई उच्च अदालत वीरगन्जले जन्मकैदको फैसला सुनाएको हो ।
तत्कालिन नेपाली सेनाका प्रमुख सेनानी केशवराज कार्की पनि भ्रष्टाचारको अभियोगमा सुन्धारा कारागारमा जेलजीवन बिताइरहेका छन् । सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्ता व्यापारी पवन संघाइको अपहरण गरेको अभियोगमा जेल चलान भए । पूर्वआपूर्तिमन्त्रीसमेत रहेका गुप्तालाई छोराको बिहेकै दिन प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो ।
त्यस्तै, कांग्रेसबाट राजनीति सुरु गरेका जयप्रकाश गुप्ता (जेपी गुप्ता) मधेश आन्दोलनपछि राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन् । तर, उनी भ्रष्टाचारी मुद्दामा चेल चलान भए । भ्रष्टाचारी मुद्दामा जेल चलान हुनेमा कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का र चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी पनि हुन् । सर्वोच्च अदालतद्वारा ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यासम्बन्धी मुद्दामा सर्वस्वहित जन्मकैदको फैसला सुनाइएका पूर्वसांसद बालकृष्ण ढुंगेल जेल पनि चलान भएका थिए । हाल उनीहरु सबै रिहा भइसके ।
यस्तै आर्थिक अनियमितता गरेको भन्दै २०७४ असार ८ गते पूर्वआईजीपी ओमविक्रम राणा, पूर्वएआईजी दीपकसिंह थाङ्देन र पूर्वडीआईजी दीपक श्रेष्ठ पनि जेलजीवन बिताएर रिहा भइसकेका छन् । पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई १ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको थियो । पूर्वआईजीपी ओमविक्रम राणासँगै जेल चलान भएका हुन् हेम गुरुङ ।
अदालत परिसरमा आत्मसमर्पण गरेका गुरुङलाई अदालतको अदोश बमोजिम जेल चलान गरिएको थियो । सुडान घोटला प्रकरणमा पूर्वएआईजी श्याम सिंह थापा र पूर्वडीआईजी दिपक श्रेष्ठ पनि डिल्लीबजार कारागारमा थिए । उनीहरुलाई जनही एक वर्ष कैद र ४० हजार जरीवाना गराउने निर्णय भएको थियो ।