Logo

अविरल वर्षा, हेटौंडा–काठमाडौं यातायात अवरुद्ध



हेटौंडा, २७ असार। बिहीबार रातिदेखि परेको अविरल वर्षाले हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं जाने फाखेल र सिस्नेरीका विभिन्न स्थानमा पहिरो जाँदा शुक्रबार बिहानदेखि हेटौंडा–कुलेखानी सडकखन्डको यातायात सेवा अवरुद्ध भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयकाअनुसार शुक्रबारै बिहान हेटौंडा–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सबै सवारी–साधन भैंसेस्थित त्रिभुवन राजपथबाटै सन्चालनमा ल्याइएको छ । फाखेलको महालक्ष्मी पुलनजिक र सिस्नेरीका विभिन्न स्थानमा पहिरो जाँदा हेटौंडा–कुलेखानी यातायात सन्चालनमा अवरोध भएको हो ।

यसैबीच, त्रिभुवन राजपथको बागझोरामा शुक्रबार बिहान ९ बजेपछि आएको बाढीले हेटौंडा–काठमाडौंको यातायात सेवा पनि अवरुद्ध भएको उक्त कार्यालयले जनाएको छ ।  हेटौंडाबाट भैंसे, भीमफेदी, दामन र पालुङ जाने सवारी–साधन बागझोरामै रोकिरहेको भैंसेस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार दिउँसो मौसममा सुधार भए डोरबारबाट पहिरो हटाइ बागझोरामा यातायात सन्चालन गर्ने तयारी भइरहेको प्रजिअ आस्मान तामाङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्