Logo

बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्वार कार्य प्रभावकारी बनाउन सकिएन : गृह सचिव राई



प्रेम राई, सचिव, गृह मन्त्रालय

लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी देशभर २२ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । बाढी र पहिरोबाट २० जिल्ला प्रभावित भएका छन् । काठमाडौं र त्यसपूर्वको भूभागमा बढी प्रभाव परेको छ । अविरल पानी परिरहँदा नदी र खोला किनारका बासिन्दामा त्रास फैलिएको छ । नदी र खोलाहरूमा बहाव बढ्दै गइरहेको छ । विपद्को यस्तो अवस्थामा सरकारले के गरिरहेको छ त ? ऋषि धमलाले गृह मन्त्रालयका सचिव प्रेम राईसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

लगातारको वर्षाले कुन कुन ठाउँमा खतरा बढेको छ ?
रौतहट र सर्लाही जिल्ला सबैभन्दा बढि जोखिममा परेको छ । रौतहटमा भारततर्फ सिमानामा बाँधिएको ढोका अहिलेसम्म खुलेको छैन । त्यसले गर्दा डुबानको स्थिती सृजना भएको हो । सुरक्षाकर्मीलाई नै उद्धार गर्नुपर्ने अवस्था देखिएको छ । कतिपय स्थानमा उद्धारका लागि हेलिकप्टरको माग गरिएको छ । तर हेलिकप्टर जान सक्ने स्थिती पनि छैन । सर्लाहीमा बागमतिले बाँध क्रम गरिरहेको छ । पानी अझै बढ्यो भने संग्राम मच्चिन सक्छ । अहिले पनि घरभित्रै बाढीपसेपछि मानिसहरु घरको छतमा बसिरहेका छन् । महोत्तरीको भोक्सी खोलाको पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । हिजोदेखि अवरुद्ध भएको विपी राजमार्ग अझै खुलाउन सकिएको छैन ।

राहत र उद्धारको काम प्रभावकारी बनाउन नसकिएको हो ?
बाढी पहिरो प्रभावित क्षेत्रमा सबै संयन्त्र खटाएर उद्धारको काम भइरहेको छ । सुरक्षाकर्मी, स्थानीय प्रशासन, प्रदेश सरकारले पुरै प्रयास गरिरहेको छ । तर निरन्तर वर्षा हुँदा पानीको सतह धेरै बढ्दा समस्या भएको हो । उद्धारमा निस्किनै नसक्ने अवस्था सृजना भएको छ । यद्यपी सम्भव भएजतिको प्रयास भइरहेको छ । अवरुद्ध राजमार्ग खुलाउने काम पनि भइरहेको छ ।

राहत र उद्धारको लागि मूख्य समस्या के हो ?
पानीको सतह धेरै बढेको छ । वर्षा रोकिएको छैन, जसले गर्दा हेलिकप्टरको प्रयोग गर्न पनि सकिएको छैन । तर सम्बन्धित ठाउँको जनशक्ति र सुरक्षा निकाय अहोरात्र खटिएको छ ।

उद्धारका लागि सुरक्षा निकायको परिचालन कसरी भइरहेको छ ?
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलगायत स्थानीय तहका जनप्रतिनिधि, स्वयम्सेवक, रेडक्रसका प्रतिनिधिहरु परिचालन भइरहेको छ । सबैको संयोजन प्रमुख जिल्ला अधिकारीले गरिरहनुभएको छ । केन्द्रको आपतकालिक सेवा केन्द्रबाट आवश्यक स्रोत सामग्री जुटाउने काम भइरहेको छ । मौसममा सुधार आएपछि उद्धार पर्खेर बसिरहको नागरिकलाई सुरक्षितस्थलमा ल्याउनेछौँ ।

अझै पनि वर्षा रोकिएको छैन । जनजीवन त्रसित छ । उनीहरुलाई के भन्न चाहनुहुन्छ ?
विपद्को अवस्था एकैपटक सबैतिर समस्या आएको छ । धेरै ठाउँमा उद्धारको आवश्यकता छ । तर प्रभावकारी हुन सकेको छैन । तर प्रयास जारी छ । केही समयको लागि जनताहरुले आफैँ पनि सुरक्षित स्थल खोज्ने गर्नुपर्छ । एक अर्कामा सहयोग गर्न अनुरोध गर्दछु । अति आवश्यक सहयोग पर्यो भने जिल्ला प्रहरी, जिल्ला प्रशासन, गृह मन्त्रालय, स्थानीय सरकारलाई जानकारी गराउन आग्रह गर्दछु ।

नेपालमा जहिले पनि विपद् आएपछि विभिन्न समस्याले राहत र उद्धार प्रभावकारी बन्न सक्दैन । तर तपाईहरुले किन नयाँ विकल्प खोज्नुहुन्न ?
हामीले नयाँ रणनीति अपनाइरहेका छौँ । ५६ जिल्ला र सबै प्रदेश सरकारमा आपतकालिन केन्द्र स्थापना गरिसकेका छौँ । चेतनामूलक कार्यक्रम गरिरहेका छौँ । धेरै ठाउँमा उद्धारका सामग्रीको व्यवस्था पनि गरिएको छ । तर सबै ठाउँमा सबैखाले उद्धारका सामग्रीको व्यवस्था भइसकेको छैन । आगामी दिनमा विपद् जोखिमको अवस्थालाई हेरेर भौतिक विकास गर्नुपर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot