Logo

बाढि-पहिरो पीडितलाई राहत दिने निर्णय, घाईतेको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने



काठमाडौं, २९ असार । आज अपरान्ह बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी र पहिरोले भत्काएका विभिन्न राजमार्गमा भत्किएका पुल तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए । उनकाअनुसार बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ५१ जनाको मृत्यु भएको छ । र, अहिलेसम्म ३१ जना बेपत्ता रहेका छन् । २८ जना घाईते, दश बहजार तीन सय ८५ घरधुरी विस्थापित भएको छ ।

त्यस्तै, बाढी पहिरो र डुबानले घाइते भएका सबैको उपचार सरकारले व्यहोर्ने पनि उनले जानकारी दिए । पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगे थप पैसा दिने निर्णय पनि सरकारले गरेको छ । सरकारले सबै सुरक्षा अंग र सरकारी निकायलाई तयारी हालतमा रहन पनि निर्देशन दिएको छ।

त्यस्तै, यातायात आवागमन सुचार गर्न रक्षा, गृह र भौतिक मन्त्रालयलाई समन्वय गरेर काम गर्न निर्देशन दिएको पनि उनले जानकारी दिए । उद्धार तथा राहतको काममा सहयोग पुर्याउने सबै जनप्रतिनिधिहरुलाई आग्रह गरिएको पनि उनले जनाए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्