असार २९, काठमाण्डौ । सात दिन सात रात पानी पर्दा पनि खासै प्रभाव नपर्ने काठमाडौं उपत्यकामा पछिल्ला केहि वर्ष यता सामान्य वर्षासँगै डुवानको क्रम ह्वातै बढेको छ । मानवीय त्रुटीका कारण वस्ती डुबानमा परेको हो । खोला नदी अतिक्रमणको क्रम जारी रहे भविष्यमा थप ठूलो विपत्तीको सामना गर्नुपर्ने देखिएको छ ।
बल्खु खोलामा आएको बाढीले कलंकीका ढेड बढि घर डुवायो भने हजारौंलाई विस्थापित बनायो । यो खोलाले मात्रै होइन बागमती, विष्णुमती, हनुमन्ते, मनहरा र अन्य खोलामा आएको बाढिले पनि यस्तै विपत्ति निम्त्याएको छ। धेरै बस्तिहरु डुवानमा परेका छन् ।
गत वर्ष पनि हनुमन्ते खोलाले भक्तपुरमा ठूलो बितण्डा मच्चाएको थियो। मध्यपुर थिमीमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेको थियो भने चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग जलमग्न थियो । कतिसम्म भने सडकमै डुंगा कुदाने अवस्था बनेको थियो ।
केही वर्ष अघिसम्म उपत्यकामा सामान्य वर्षा हुँदा जमल, पुतलीसडकतिर केहीबेर भेल बग्ने बाहेक अन्यत्र यस्तो प्रभाव परेको सुनिदैन थियो । तर, अकस्मात यस्तो अवस्था कसरी आयो ? स्थानीय र बुढापाखा भन्छन्– खोला मिचेर बस्ति बसालेपछि यो परिस्थितिको सृजना भएको हो ।
विज्ञहरुका अनुसार पनि काठमाडौंमा मापदण्डविपरित धमाधम घर बनाउने र नदि अतिक्रमण गर्ने क्रम बढेकै कारणले डुवानको चपेटा सहनु परेको हो । सरकारले सम्भावित जोखिमतर्फ ध्यान नदिदा र नागरिकले जथाभावि घर बनाउने गरेकै कारणले काठमाडौं झन झन जोखिममा पर्दै गएको विपत् व्यवस्थापन विज्ञ डा मिनबहादुर पौडेल बताउँछन् ।
विज्ञहरुका अनुसार खोला उर्लिनु कुनै अस्वभाविक प्रक्रिया होइन । तर उर्लिएको खोलालाई रोक्न खोज्दा त्यसको नतिजा अस्वभाविक देखिएको पौडेलको टिप्पणी छ ।
बढ्दो जनसंख्या र कंक्रिटका घरहरुको तिब्र निर्माणका कारण काठमाडौं झन झन समस्या ग्रस्त बनेको विज्ञहरु बताउँछन् । यहिक्रम जारी रहे यहाँ सामान्य समस्याले पनि विकराल रुप लिने खतरा छ । त्यसैले सरकराले खोला वा नदीलाई प्राकृतिक रुपमै रहिरहन दिनेतर्फ ध्यान दिनु जरुरी छ ।