Logo

एउटै जिल्लामा २ लाखभन्दा बढी पिडित, उद्धार तथा राहतमा कठिनाई



काठमाडौं ३० असार । अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र पहिरोमा परी कैयौँको ज्यान गएको छ भने कैयौँ घरबारविहीन भएका छन् । मध्य र पूर्वी क्षेत्रमा अत्यधिक वर्षासँगै ठूला, मझौला तथा साना नदीको बहाव बढेर मानव बस्तीमा पस्दा प्राकृतिक विपत्ति निम्तिएको हो ।

तराईका विभिन्न जिल्लामा उद्धारपछि संरक्षित क्षेत्रमा राखिएकालाई अत्यावश्यक राहत उपलब्ध गराइएको प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूले जानकारी गराउनुभएको छ । यसैगरी सङ्घ, प्रदेशबाट आवश्यक थप सहयोग प्रभावित क्षेत्रमा पठाइएको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भन्नुभयो, “राहतका लागि स्थानीय तहले केन्द्र र प्रदेशसँग समन्वय गरी काम अगाडि बढाएको छ, केन्द्रबाट त्रिपाल, डुङ्गा र उद्धारका लागि जनशक्ति तराई पठाइएको छ । ”
यातायात अवरुद्ध हुँदा तराई क्षेत्रको बाढी प्रभावितको उद्धार गर्न समस्या आइरहेको खनालले बताउनुभयो । तथापि जसरी सकिन्छ डुबान र बाढीको चपेटामा परेकालाई उद्धार गरी सुरक्षित राख्ने पहल भइरहेको उहाँले बताउनुभयो, “उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तिनै अङ्गका सुरक्षा निकायलाई एकमुष्ट परिचालन गरिएको छ । ”
नेपाली सेनाको चारवटा हेलिकप्टर आइतबार तराई पुगेका छन् । तिनले अत्यधिक विपद्मा परेका क्षेत्र, बस्ती र मानव समुदायको पहिचान र अवस्थिति पत्ता लगाउन सघाएको छ । साना साधन पुग्न नसकेका स्थानमा पुगेर उद्धारकर्मी पु¥याउने काम गरिरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।

“प्रदेश २ को सिराहा, सप्तरी, रौतहटलगायत विपद् स्थलका लागि एउटा हेलिकप्टरलाई सोही क्षेत्रको पृतनामा तैनाथ राखिएको छ । ” उहाँले थनुभयो, “अर्को तीनवटाले जहाँ आवश्यक पर्छ, त्यहाँ राहत, उद्धार सामग्री र जनशक्ति ओसारपसारमा सघाइरहेको छ । ” पाण्डेका अनुसार डुबान क्षेत्रमा जमेको पानीलाई निकास दिन काठमाडौँबाट जेनेरेटर लगायतका अत्यावश्यक उपकरण तराई पु¥याइएको छ ।
सशस्त्र प्रहरीले पनि प्रदेश २ लाई केन्द्र बनाएर उद्धारलाई तीव्रता दिएको प्रवक्ता सुरजकुमार श्रेष्ठले बताउनुभयो । “उद्धारलगत्तै राहत ढुवानीको योजना बनाएर अगाडि बढेका छौँ,” उहाँले भन्नुभयो, “जसका लागि गृह मन्त्रालयले दिएको मापदण्डअनुसार काम गर्नेछौँ । ” उहाँले भन्नु भएझैँ यतिबेला राहत वितरण र विपत्तिमा परेकाको संरक्षणमा स्थानीय तह र सरोकार निकाय खटिएका छन् । अलपत्र परेकालाई सुरक्षित राख्ने काममा भने केन्द्र, प्रदेश र स्थानीय तीनै तहले समन्वय गरेर काम गरिरहेका छन् ।
उद्धारमा कठिनाइ
कमला, बाग्मती, सप्तकोसीजस्ता ठूला नदी र स्थानीय नदीको बहाव एकैचोटि बढेकाले गाउँ तथा सहरका अधिकांश भूभाग डुबानमा पर्नुअघि केही क्षेत्रका बासिन्दालाई पहिल्यै अन्यत्र
सारिए ।
तर नभ्याइएका अधिक मानव बस्तीमा बाढी पसेर जनजीवन अस्तव्यस्त बनाएपछि भने स्थानीय तह र निकायलाई उद्धारमा हम्मेहम्मे नै परेको छ ।
विशेषगरी शनिबार अविरल वर्षा कायम रहँदाको अवस्था, बाटो, पुल बगाएको अवस्था र स्थानीय तहसँग साधनस्रोत शून्य अवस्थाका कारण अप्ठेरो परेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जानकारी दिनुभयो ।
तर, आइतबार मौसममा सुधार आई पानी पर्न कम भएको र उद्धारका लागि थप साधनस्रोत जुटेपछि भने उद्धार तीव्र पारिएको उहाँहरूले बताउनुभयो । “आइतबारसम्म उद्धारलाई नै विशेष प्राथमिकता दिएका छौँ,” सुनसरीका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीले भन्नुभयो, “बाढी घटेकाले अवस्था सुधारोन्मुख छ । ” गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot