Logo

कांग्रेसले राजनीतिक दाउपेचलाई केन्द्रमा राख्दा संसद बैठक स्थगित : सुनुवार



काठमाडौं, ३० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपतिको बेलामा संसद स्थगित् गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका छन् ।

संसदको आज (सोमबार) को बैठक सूचना टाँसेर स्थगित गरिएलगत्तै बाढि, पहिरो प्रभावित जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो आलोचना गरेका हुन् । उनीहरुले जनताको कुरा सार्वभौम संसदमा राख्न नदिएको भन्दै कांग्रेसको विरोध गरे । जनताको मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु खेदजनक भएको उनीहरुको टिप्पणी छ । उनीहरुले संसद स्थगित् गरेकोमा आक्रोश पोख्दै त्यसको भत्सर्ना पनि गरे ।

ओखलढुंगाबाट निर्वाचित नेकपाका सांसद यज्ञराज सुनुवारले संसद बैठक अवरुद्ध गरेकोमा गम्भिर आपत्ति जनाए । उनले भने,‘बैठक सुरु नै नभईकन अचानक स्थगित गरियो । सम्माननीय सभामुख भन्नुपर्ने बेलामा आदरणीय क्लबका सभापति ऋषि धमलाज्यू भन्नुपरेको छ । म ऋषिजीलाई धन्यवाद भन्न चाहन्छु ।’

 

राष्ट्रिय विपतिको बेलामा संसद बैठक बसेर आफ्ना कुरा राखौंला भन्ने चाहना पुरा नभएकोमा उनले कडा आक्रोश पोखे । उनले भने,‘संसदको नियमित बैठक बस्ला र आफ्ना कुरा राखौंला भनेको त बैठक स्थगित गरियो । यसमा हाम्रो गम्भिर आपत्ति छ । कांग्रेसले जुन रवैया देखायो, यो गलत छ ।’

कांग्रेसले राजनीतिक दाउपेचलाई केन्द्रमा राखेर संसद बैठक स्थगित गरेको भन्दै उनले गम्भिर आपत्ति जनाए । उनले भने,‘म कांग्रेसको यो रवैयाको घोर आपत्ति जनाउँछु ।’ आफू ७२ घण्टा लगाएर संसद बैठकमा जनताका दुःखका कुरा राख्छु भनेर ज्यान दाउमा लगाएर आएको सुनाउँदै सुनुवारले भने,‘तर, बैठक स्थगित गरियो । यसमा म सभामुखलगायत प्रतिनिधिसभाको नेतृत्व गर्नेहरुको आलोचना गर्छु ।’

उनले उद्धार तथा राहतको लागि सरकारको काम अझै प्रभावकारी हुनुपर्ने बताए । उनले भने,‘अहिलेपनि काममा ढिलासुस्ती भैरहेको छ । अहिले त संसदमा यो विषयमा गम्भिर बहस हुनुपर्ने थियो । तर, बैठक बस्नै नदिई स्थगित् गरियो । यो षडयन्त्र हो ।’

अहिलेपनि बाढि, पहिरोका कारण राजमार्ग तथा बाटाघाटाहरु अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परिरहेको सुनाउँदै उनीहरुको तत्काल उद्धार गर्न सरकारले आफ्नो संयन्त्र परिचालन गर्नुपर्ने उनको भनाई छ । सुनुवारले २०७४ असोज ९ गते पारित भएको विपत जोखिम तथा न्यूनिकरण व्यवस्थापनसम्बन्धी विद्येयकअनुसार अहिलेसम्म प्राधिकरण गठन नभएकोमा गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्