काठमाडौं, ४ साउन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने स्पष्ट पारेका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ५ मा पुनर्निर्माण गरिएको पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई पनि आग्रह गरेका छन् ।
सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकारलाई सैह्य नहुने उनको चेतावनी छ । सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भएपनि त्यसलाई सरकारले कार्वाही गरेरै छाडने चेतावनी दिए ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाहरुसँग आवश्यक सहकार्य गरेर काठमाडौं महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको दावी गरे । उनले काठमाडौंलाई हिलो र धुलोमुक्त बनाएको दावी गर्दै चालू आर्थिक वर्ष भित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
प्रदेश सांसद नारायण सिलवालले काठमाडौं क्षेत्र नम्बर ५ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास हुने गरी स्थानीय सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । प्रदेश ३ को सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सो पुल वरपरका सम्पदाहरुको पुनर्निर्माण गरी त्यसलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रदेश सांसद सिलवालको योजना छ ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम