Logo

व्यक्ति विशेषको कुराकानी टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लाग्यो



काठमाडौं, ६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा व्यक्ति विशेषलाई दुःख दिने नियतबाट वर्तमान सरकारले काम गरिरहेको आरोप लगाएका छन् ।

उनले भने,‘अहिले सरकारले व्यक्ति विशेषलाई दुःख दिने नियताबाट काम गरिरहेको छ । व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको छ ।’ उनले बीपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको पनि आरोप लगाए ।

बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘बीपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने स्पष्ट पारे ।

देउवाले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई कटौती गर्ने ढंगले विधेयक ल्याइएमा सदन अवरुद्ध मात्र होइन, सडक संघर्षमा उत्रन पनि बाध्य हुने अवस्था हुन्छ । मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने ढंगबाट ल्याएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्