Logo

‘हेग लगे विश्वकै हिरो भएर निस्किन्छु’ (भिडियोसहित)



काठमाडौं, १३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताएका छन् । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको पनि प्रचण्डको दाबी छ ।

दाहालले भने,‘यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ । जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै इमान्दार नेता तथा कार्यकर्ता एक ठाउँमा एकतावद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्छ ।’ सोमबार आफ्नै निवास खुमल्टारमा विप्लव समुह परित्याग गरी नेकपामा प्रवेश गर्ने सो समुहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै यस्तो धारणा राखेका हुन् ।

प्रचण्डले,‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरुविरुद्ध षडयन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने उनको भनाई थियो ।

दाहालले भने,‘हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धीमा टेकेर अगाडि जाने भनेर आएको हो ।’ अध्यक्ष दाहालले क्रान्ति दुईचार जनाको रहरले हुने कुरा नभएको स्पष्ट पारे । उनले पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने पनि विश्वास दिलाए । नवप्रवेशी नेता रमण घिमिरेले आफूले बाटो बिराएको महशुस भएपछि विप्लव समुह परित्याग गरेको बताए ।

कतिपयले ‘प्रचण्डलाई हेगमा लैजाने रे, एक दिन भए पनि जेलमा हाल्ने रे भनेर प्रचार गरिएको बताउँदै प्रचण्डले त्यसप्रति खरो टिप्पणी गरेका छन् । उनले अघि थपे,‘आजपनि म एउटा उसमा हेर्दै थिएँ, १३ हजार स्कुल भत्काएको, १३ हजार मन्दिर भत्काएको, अहिले यस्तोलाई चाहीँ राजनेता मान्ने ? यो एउटा डिजाईन अन्तर्गत भैरहेको छ । यो परिवर्तन नचाहने तत्वहरु चाहीँ यसमा लागेका छन् । मलाई हेग लगेरपनि केही फरक पर्दैन् । हेग लगे भने त म पुरै विश्वकै हिरो भएर निस्किन्छु । संसारले झन मलाई एकैचोटी चिन्ने हुन्छ । विश्वभरिका जनताले यो त न्यायको पक्षमा रहेछ । शान्तिको पक्षमा रछ भन्ने थाहा हुन्छ । त्यो त मेरो लागि गर्वको कुरा हुन्छ । तर, मलाई लाग्दैन कि यिनीहरुलाई मलाई लान्छन् र विश्वकै हिरो बनाउँछन भनेर ।

प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुमा रमण घिमिरे, आवास मन्सुरी, सुरेश कुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की र नमराज शर्मालगायत छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot