काठमाडौं, १३ साउन । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा विभिन्न अभिव्यक्ति दिएकै कारण गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को विरोध भैरहेको छ । मन्त्री थापाले कोही पनि हाइप्रोफाइललाई जोगाउन निर्मला प्रकरणको अनुशन्धान नमोडिएको दाबी गरे ।
आज बसेको संसदको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने,‘धेरैलाई हाई प्रोफाइललाई जोगाउन हो कि भन्ने परेको छ, तर त्यो होइन। अहिले पनि अनुसन्धान चलिरहेकाले निचोडमा पुगिहाल्नु हुँदैन। हामीले सयौँ व्यक्तिलाई अनुसन्धानका क्रममा बोलाएका थियौँ। सोधपुछ गरिएको छ ।’
मन्त्री थापाले निर्मला पन्तको बलात्कारपछिको हत्याकाण्डमा प्रहरीले नयाँ सूत्रबाट अनुसन्धान गरिरहेको स्पष्ट पारे । उनले भने,‘पुराना सबै अनुसन्धानका विधि फेल खाएपछि अहिले नयाँ सूत्र लगाएर भेटिएका नयाँ तथ्यहरु केलाउँदै अनुसन्धान चलिरहेको छ ।’
त्यतिमात्रै होईन, उनले उक्त प्रकरणमा सरकारले आफ्नो काम गरिरहेको बताउँदै भने,‘तपाईंहरुले अपराध/अनुसन्धानको रणनीति केही भन्नुस भन्नुभयो? ती विविध किसिमका हुन्छन्, मैले केही भन्न मिल्दैन।’ निर्मला हत्याकाण्डमा सबैले दिलीपसिंह विष्ट नै होकि भनिरहेको सुनाउँदै उनले भने,‘उसको बयानले पनि त्यही देखाउँछ। तर अनुसन्धान चलिरहेको छ।’
मन्त्री ‘बादल’ले सांसद निरुदेवी पाललाई पेस्तोल तेर्स्याउनेको ‘स्केच’ बनिसकेको बताएका छन् । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । थापाले भने,‘‘सांसद पालले दिएको हुलियाका आधारमा स्केच बनिसक्यो । प्रहरीले अपराधी खोज्दैछ ।’’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम