काठमाडौं । नेपालीहरुले गैरकानुनी धन विदेशमा जम्मा गरेको चर्चा चल्दै आएको छ । कालो धनको स्वर्ग मानिएका देशका बैंकहरुमा त्यस्ता धन रहेका छन् । स्वीजरल्यान्डको बैंकमा नेपालीको सबैभन्दा बढी रकम रहेको तथ्य बाहिर आइसकेको छ । यसबाहेक कालो धनको स्वर्ग मानिएका देशहरु भर्जिन आइल्यान्डलगायतमा समेत नेपालीको रकम पुगेको विषय बाहिर आयो ।
कालो धनबारे विभिन्न समयमा विषय उठेपछि यसपटक संसदमा गम्भीर प्रश्न उठ्यो । विदेशमा रहेको नेपालको रकमबारे सांसद अतहर कमल मुसलमानले संसदमा प्रश्न गरेका हुन् ।
अतहरले सोधे, स्वीस बैंकमा जम्मा भएको देखिएको नेपाली नागरिकहरुका गैरकानुनी धन ५३ अर्ब रुपैयाँको के कारबाही हुँदैछ र कहिलेसम्म पूरा हुन्छ ? कांग्रेस सांसद अतहर कमल मुसलमान यसपटक निकै कडा रुपमा प्रस्तुत भए । अर्थमन्त्री युवराज खतिवडालाई प्रश्न कडा पर्यो । उनले कुटनीतिक शैलीमा जवाफ दिएर टारे ।
अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न धेरै कठिन रहेको बताए । सम्बन्धित देशको सहयोग बिना कस्को कस्को खाता छ ? र, खातामा कति पैसा छ ? भन्ने कुराको अनुसन्धान पूरा हुन नसक्ने बताए । अनुसन्धान कार्यको लागि अर्थ मन्त्रालयका राजस्व सचिवको अध्यक्षतामा समिति गठन भएर विदेशी बैंकमा नेपाली नागरिकको रकमको खोजी चै भइरहेको उनले बताएका छन् ।
त्यसैगरी, नेपालमा बैंकको अभावले स्वीस बैंकमा राख्ने भाग्यमानी को हुन् र त्यो रकम फिर्ता ल्याउन सक्ने हिम्मत छ कि छैन ? भने, कांग्रेस सांसद रामबहादुर विष्टले पनि सोध्नु भएको छ ।
सञ्चार माध्यममा सार्वजनिक भएका नाम नेपालीको नभई नेपालीसँग मिल्दोजुल्दो भएको हुन सक्ने अनुमान अर्थमन्त्री खतिवडाले लगाए ।
‘राजपरिवारको रकम ल्याइसक्यौं’
अर्थमन्त्री खतिवडाले राजपरिवारको नाममा रहेका केही रकम नेपाल ल्याइसकेको बताए । नेपाल ट्रष्ट गठन भएपछि त्यसले खोजी गर्दा राजपरिवारका केही सदस्यको विभिन्न बैंकमा रकम भेटिएको भन्दै उनले त्यसलाई नेपाल ट्रष्ट मातहत ल्याइसकेको बताए ।