काठमाडौं, १० भदौ । सरकार प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा उपचार जारी रहेको जानकारी दिए । उनले हप्ता, दश दिनमा प्रधानमन्त्री स्वस्थ्य भएर फर्कने बताए ।
उनले भने,“प्रधानमन्त्रीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको सबैलाई थाहा छ । त्यसको बेलाबेलामा नियमित फलो अप हुन्थ्यो, अहिले पनि भइरहेको छ, प्रधानमन्त्रीसँग सोमबार हामीले सबैले कुराकानी ग¥यौँ, उहाँको स्वास्थ्य अवस्था अत्यन्त राम्रो छ । दुई वटा डोज दिइएको छ । सात वटा नै दिनु नपर्ने पनि हुन सक्छ ।”
उपचारबाट प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै गएको र आफ्नो बारेमा चिन्ता व्यक्त गर्नेलाई उनले धन्यवादसमेत दिनुभएको मन्त्री बाँस्कोटाले जानकारी दिए । “प्लाज्मा फेरेसिस प्रक्रियाले निकै राम्रो काम गरेको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ, प्रधानमन्त्रीले यो पनि भन्नुभएको छ, म निदाउँदा नेपालमा र बिउँझदा मात्रै सिंगापुरमा भए जस्तो लागेको छ । ज्यान यता छ मन त्यता (नेपाल)मा छ । म स्वस्थ भएर चाँडै फर्कन्छु, ढुक्कले काम गर्नुस” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री बाँस्कोटाले भने ।