काठमाडौं, भदौ २२ । लोकसेवा आयोगले संघका लागि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। आयोगले करिब ५ हजार रिक्त दरबन्दीमा नर्या भर्ना प्रक्रिया सुरु गर्ने भएको हो।
संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदका लागि आयोगमा माग पठाइसकेको छ। एक हप्ताभित्रै अन्य पदमा पनि माग पठाउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार संघका लागि करिब ५ हजार पद रिक्त छन्। सम्पूर्ण विवरण संकलन भइरहेको संघीय मन्त्रालयका प्रवक्त भूपाल बरालले जानकारी गराए। अहिले कहाँ कुन पद रिक्त छन्, विवरण संकलन गरिरहेका छौं,’ बरालले भने, ‘सबै विवरण आइसकेपछि एक हप्ताभित्रै आयोगमा सिफारिस पठाउँछौं।’
संघका लागि आयोगले दुई वर्षदेखि नयाँ भर्ना लिएको थिएन। समायोजन प्रक्रिया टुंगिएपछि आयोगले नयाँ भर्ना प्रक्रिया सुरु गरेको हो।
आयोगका प्रवक्ता किरण शर्माले संघीय मन्त्रालयबाट सहसचिव र उपसचिवका लागि माग भएको बताए। नियमित कार्यतालिकाअनुसार असोजको तेस्रो साता विज्ञापन गरिने उनले बताए।
मन्त्रालय स्रोतका अनुसार सहसचिव र उपसचिव पदका लागि करिब ३ सय रिक्त दरबन्दीमा माग भएको छ। मन्त्रालयले अब पठाउने मागमा प्रशासन, लेखा, इञ्जिनियरिङ, परराष्ट्रलगायतका सेवा हुनेछन्। आजको नागरिक दैनिकमा भुवन शर्माले खवर छापेका छन् ।