Logo

चार बिघा जग्गा दोदा नदीले कटान गरी बगायो



कञ्चनपुर, भदौ २२ । कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ सिकलपट्टि जाइका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ । तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ ।

नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्यक्ष बहादुर रानाले जानकारी गराएका छन । लगातारको वर्षासँगै नदीमा आएको बाढीले जग्गा बगाउन थालेपछि बस्तीसमेत जोखिममा रहेको छ । उनले भने, “तत्काल जग्गा कटानको कार्य नरोकिए बस्तीनै विस्थापनमा पर्छ ।”

नदी नियन्त्रणका लागि गाउँपाललिकाले तत्काल अल्पकालीन योजना अगाडि बढाउनुपर्ने स्थानीयवासी लक्ष्मण रानाको भनाई रहेको छ । ५०० मिटरको क्षेत्रमा नदीले लगातार जग्गा कटान गरिहेकाले स्थानीय बासिन्दा पानी पर्नासाथ अनिदोमै रात बिताउन थालेका छन् ।

नदीले मकै रोपेको १० कठ्ठा जग्गा तीन दिनको अवधिमै बगाएर लगेको स्थानीयवासी मनोज रानाले बताए । उनले भने, “थोरै जग्गा थियो, त्यही पनि नदीले बगाएर बेघर बनाउन थालेको छ । घरनै बगाउने चिन्ता छ ।” गुरुयोजनासहित नदी नियन्त्रणका लागि योजना ल्याई बस्ती विस्थापन हुनबाट जोगाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्