Logo

श्रीमान विदेशमा, श्रीमतीको हत्या गरेर कसले पार्यो सिरक भित्र पोको



काठमाडौं, भदौ २३ । धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्दै एक महिलाको परिवारले शव नबुझ्ने अडान लिएको छ ।

हत्यारा पत्ता नलागेसम्म शव जिम्मा नलिने ती महिलाको परिवारले अडान लिएको हो । सोलुखम्बुको सोलुदूधकुण्ड नगरपालिका– ५ शेर्गाखोपमा ४७ वर्षीया मुगामाया घतानी दुवै हातको नाडीमा करीब दुई इञ्च काटिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

मृतक घतानी शनिबार साँझ मूल घरमा सासूससुरासँगै खाजा खाएर आफ्नै घर गएको ससुरा रत्नबहादुर घतानीको भनाई रहको छ ।

उनका अनुसार आइतबार बिहान ११ बजेसम्म बुहारीको चहलपहल नभएपछि सासूले छिमेकीसहित घरमा गएर हेर्दा ढोकामा ताल्चा लगाएको तर भित्र खाटमा सिरक ओडेर घोप्टो परेको बुहारीलाई मृत अवस्थामा भेटिएको थियो । प्रत्यक्षदर्शीका अनुसार त्यहाँ रगतको भल बगेको थियो ।

उनीहरुले घटनाका बारेमा तत्काल प्रहरीलाई खबर गरेका थिए । सदरमुकाम नजिकै भएकाले सोही समयमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

मृतक घतानीले प्रयोग गरेको साम्सुङ मोबाइल र कानमा लगाएको रिङसमेत हराएको छ भने नाकमा लगाएको फुली र गलामा लगाएको तिलहरी साथमै रहेको तर अन्य केही पनि सामग्री फेला नपरेको प्रहरीले जनाएको छ ।

दुवै हातमा गहिरो चोट भए पनि प्रयोग गरिएको कुनै हतियार नभेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

हातको नशासमेत काटिएपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ । झट्ट हेर्दा चक्कु या ब्लेट प्रयोग गरेको हुनसक्ने भए पनि घटनास्थलमा कुनै सामग्री नभेटिनु र बाहिरबाट ताल्चा लगाउनुले घटना थप रहस्यमय बनेको छ ।

तत्काल शव नबुझ्ने आफन्तको भनाइ

आज बिहान जिल्ला अस्पताल फाप्लुमा शव परीक्षण गरिएको भए पनि परिवारले शव बुझेको छैन । मृतकका भाइ गोपाल घिमिरेले आफ्नी दिदीको हत्या भएको दाबी गर्दै तत्काल हत्यारा पत्ता लगाई कारवाहीको दायरामा ल्याउन माग राखेका छन् ।

मृतक महिलाका श्रीमान् अमर घतानी विगत दुई वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदीमा छन् भने छोरीको विवाह भइसकेको र दुई छोरा काठमाडौमा रहेको आफन्तले बताएका छन् । घरमा मुगामाया एक्लै बस्दै आएकी थिइन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot