‘लोकतन्त्रमाथि खतरा आइलाग्यो भने सरकार जाइलाग्ने’
काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आजैबाट भ्रष्टाचार अभियान सुरु भएको बताउँदै अबको तीन वर्षपछि भ्रष्टाचारको बारेमा बहस गर्न नपर्ने बताएका छन् ।
बुधबार सिंहदरबार परिषरमा निर्माण हुने संघीय संसद भवनको बिहान शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘नयाँ संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न भैसक्छ । अब यो भवनमा आउँदा हामीले भ्रष्टाचारको विषयमा बहस गर्नुपर्दैन् ।’
उनले तीन वर्षभित्र भ्रष्टाचार निमिट्यान्न हुने दाबी गरे । ओलीले भने,‘आजैबाट भ्रष्टाचारको अभियान सुरु हुन्छ । आधुनिक पार्लियामेन्ट भवन बनाउँदैछौं । नयाँ भवन निर्माण भएर सञ्चालनमा आउँदासमेत भ्रष्टाचार अन्त्य हुन्छ । त्यतिवेला एक शब्दपनि भ्रष्टाचारबारे बोल्नुपर्दैन् । आजैबाट भ्रष्टाचारविरोधी अभियान सुरु हुन्छ । जो भ्रष्ट छ, प्रमाणसहित आउनुहोस म तिनीहरुलाई कारबाही गर्छु ।’
यस्तै प्रधानमन्त्री ओलीले विभिन्न पक्षबाट लोकतन्त्रमाथि खतरा पैदा गर्न खोजिएको गुनासो पोखे । उनले भने, ‘लोकतन्त्रमाथि खतरा आइसकेको छैन, तर खतरा निम्त्याउने प्रयासहरु भइरहेका छन् । बघिनीले डमरुमाथि खतरा पैदा नहुन्जेलसम्म केही गर्दैन, जब डमरु खतरामा पर्छ तब जाइलाग्छे । सरकार पनि लोकतन्त्रमाथि खतरा आइलाग्यो भने जाइलाग्ने छ । सरकार चुप लागेर बस्दैन ।’
लोकतन्त्रको रक्षाका लागि सरकारले नियन्त्रणकारी भूमिका पनि खेल्नु परेको उनले बताएका छन् । यस्तै अब नेपाली समाजमा हिंसाका लागि कुनै स्थान नरहेकाले हाल भइरहेका हिंसात्मक प्रयासहरु क्षणिक वितण्डा मात्रै रहेको बताए । उनले भने, ‘हिंसा र लुटपाट मच्चाउनेलाई सरकारले छुट दिँदैन ।’
उनले अघि थपे,‘मान्छे मार्दै जाने, गोली ठोक्दै जाने हो भने सरकार चुप लागेर बस्दैन् ।’ उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वमाथि लगाईएको प्रतिबन्धबाट सरकार ब्याक नहुनेपनि स्पष्ट पारे । उनले भने,‘सरकारले हिंसात्मक गतिविधि रोक्छ । चन्दा माग्ने र दुःख दिनेहरुलाई छुट दिन सकिँदैन् । कतिपय साथीहरुले किन प्रतिबन्ध लगाएको भन्छन् ? मलाई थाहा छैन । किन माया लागेको हो ?’
उनले लोकतन्त्रविरोधी काम गर्न नदिने प्रतिबद्धता जनाए । उनले भने,‘कतिपय साथीहरु लोकतान्त्रिक गणतन्त्रमाथि संकट पर्यो भन्छन्, तर म यसको रक्षाको लागि ढाल बनेर उभिन्छु । म लोकन्त्र बलियो र संस्थागत गर्न लाग्छु । लोकतन्त्र कसैलेपनि खोस्न सक्दैन् ।’
फरक प्रसँगमा प्रधानमन्त्री ओलीले सरकारको कामले जनचाहनाअनुरुप गति लिन नसकेको पनि स्वीकारेका छन् । प्रधानमन्त्री ओलीले सरकारको डेढ वर्षको अवधि खासै सन्तोषजनक नरहेपनि अब बाँकी समयमा कामको गति तीव्र हुने विश्वास दिलाए ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम