काठमाडौं, १ असोज । भदौरे झरी जब झर्छ तब रोकिन गार्हो हुन्छ । यस्तै भइरहेछ सोमबार रातिबाट । अविरल वर्षा भारी पनि छैन । घरी मध्यम त घरी हल्का तर रोकिएकै छैन ।
अविरल वर्षाका कारण धनजनको खासै क्षति पनि पुगेको छैन । केहीबाहेक अधिकांश नदीहरुको बहाव शतर्कता केन्द्र पार गरेको पनि छैन । झरीले देशभरको जनजीवन भने प्रभावित बनाएको छ ।
काठमाडौंलगायत शहरी क्षेत्रमा सडक आवागमनमा असर परेको छ । झरीका कारण दैनिक काम प्रभावित भएको छ । दुई दिन दुई रात पानी परिसकेको छ ।
भदौरे झरी असोज लागेपछि रोकिने आशा छ । आज असोज १ मा पनि पानी नरोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिसम्म पानी पर्ने अनुमान छ ।
दशैंको आगमनलाई यो पानीले स्वागत गरेजस्तै देखिन्छ । खेतहरुमा हरिया धानबाली हेर्न पाइन्छ । धानको बाला लाग्दैछ । पानीले धानबालीलाई निकै फाइदा पुर्याएको छ ।
यसपटक मनसुन अझै चल्ने अनुमान गरिएको छ । यो झरीपछि मनसुन निष्कृय हुँदै जाने अनुमान छ । असोज लागिसकेकाले मौसम परिवर्तन हुनपनि पानी परिरहेको छ । यो पानीले चीसो ल्याउने छाँट ल्याएको छ । देशभरको तापक्रम ह्वात्तै घटेको छ । यसअघि काठमाडौं उपत्यकाको तापक्रम अधिकतम ३० डिग्री पुग्ने गरेकोमा ह्वात्तै झरेको छ । पहाडी भेगहरुमा राति र विहान चीसो बढेको छ ।
तराईमा पनि तापक्रम घटेको छ । यसले गर्मीमा बसेकाहरुलाई राहत मिलेको छ । झरीसँगै देशमा त्रास फैलाइरहेको डेंगु रोग पनि प्राकृतिक रुपमै नियन्त्रणमा आउने आशा गरिएको छ । डेंगु फैलाउने लामखुट्टेले अण्डा पार्न नसक्ने गरी झरीले पानी जम्न दिएको छैन । दुई दिनयता पानी जम्न नपाउँदा लामखुट्टै खासै देखिएको छैन ।