Logo

राजतन्त्रका अवशेषका हावाहरूले नेपाली जनता अब पछाडि फर्कँदैनन् : पूर्व राष्ट्रपति यादव



काठमाडौं, ३ असोज । प्रथम राष्ट्रपति डा.रामबरण यादबले नेपालको संविधान-२०७२ लाई राष्ट्रवाद वा उग्रवादको शिकार हुन दिन नहुने धारणा राखेका छन् । उनले यो संविधान जनताको उत्कृष्ट संविधान भएकाले यसलाई सवै नेपालीको अपनत्व बढाउदै लानुपर्ने धारणा राखेका छन् ।

चौथो संविधान दिवसको अवसरमा नेपाली रेडियो नेटवर्कको लागि नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रथम राष्ट्रपति यादवले संविधान कति उत्कृष्ट छ भन्ने कुरा त्यसको कार्यान्वयनले पुष्टि गर्ने बताए । उनले संविधान कार्यान्वयन जनताको चाहना अनुसार गर्नुपर्नेमा जोड दिदै कार्यन्वयको चरणमै रहेकाले अहिलेनै कसैले पनि निराशा मान्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।

यादवले जति हुनुपर्दथ्यो भन्ने जनताको चाहना हो त्योअनुसारको कार्यान्वयन गर्न नसकिए पनि विस्तारै सवैले अपनत्वका साथ ग्रहण गर्नेगरी कार्यन्वयनमा आउने बताए । अहिले भइरहेको संविधान कार्यान्वयनप्रति आफु सन्तुष्ट नै रहेको भन्दै उनले संविधानलाई कार्यन्वयन गर्दै जाँदा विधिको शासन हुनुपर्ने, पारदर्शी हुनुपर्ने, आर्थिक अनुशासन कायम हुनुपर्ने, जनताको दैनिक चासोका विषयमा सरकार बढि संवेदनशील हुनुपर्ने सुझाव दिए ।

डा. यादवले मुख्य दल नेपाली काँग्रेस र नेकपा लगायतका दलहरुले अहिले देखिएका केही असन्तुष्टिहरुलाई सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिए । उनले अहिले देखिएका समस्याको समाधान गर्नुपर्ने र हतियार उठाउनेलाई पनि वार्तामा बोलाएर फकाउनुपर्ने जस्ता विषयमा सरकार र दलहरू सबैको ध्यान पुग्न आवश्यक भएको बताए ।

डा. यादवले जनता धेरै सचेत भइसकेकाले नागरिक समाज, सञ्चारकर्मी र जनसाधारणले राजनीतिक दलहरुलाई खबरदारी गरिरहने दाबी गरे । नेपालमा धेरै लामो समयसम्म निरङ्कुश शासन चलेको र जनताको आन्दोलनले राजतन्त्र ढालेको भन्दै उनले त्यसका अवशेषका हावाहरूले नेपाली जनता पछाडि फर्कन नचाहने बताए । यादवले जनताले लोकतन्त्र र गणतन्त्रको माध्यामबाट सुशासन र विकास चाहेको धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot