Logo

सरकार भ्रष्ट भएको आरोप



प्रकाश डोटेल, स्याङ्जा । नेपाली काँग्रेसले शुरु गरेको दोस्रो चरणको जनजागरणको समापनका अवसरमा स्याङ्जामा बोल्ने नेताहरुले सरकार भ्रष्ट र जनबिरोधी बन्दै गएको बताएका छन् । वर्तमान सरकार महंगी, भ्रष्ट्राचार, हत्या हिंसा, चोरी डकौटी नियन्त्रणमा सरकार चुकेको समेत उनीहरुको आरोप छ ।

काँग्रेस पार्टी कार्यालय स्याङ्जाबाट शुरु भएको सरकार बिरोधी ¥यालीले जिल्ला सदरमुकामका अभियानपथ, चौकीबजार, हुलाकरोड, शहिदचोक, मालपोतलाईन, ठाडोलाईन र बैंकरोड हुँदै पुनः शहिदचोक पुगेर भएको कोणसभामा बोल्ने नेताहरुले विश्वका कम्यूनिष्ट सरकार जस्तै ओली नेतृत्वको सरकार हरेक क्षेत्रमा असफल बनेको बताए ।

“निर्वाचन भएपछि तीनै तहमा बनेको स्थीर सरकारले जनताका पक्षमा केहि काम गर्छ भन्ने विश्वास गरेका थियौं ।” कोणसभामा बोल्दै काँग्रेस नेतृ तथा केन्द्रिय प्रतिनिधी शारदा पौडेलले भनिन्, “स्थायी सरकार हरेक क्षेत्रमा असफल भयो ।” सरकार बनेपछि भ्रष्ट्राचार संस्थागत बन्दै गएकोमा पौडेलले चिन्ता जनाईन् ।

“सकेसम्म हामी अनावश्यक विषयमा संसद अबरुद्ध, रेलिङ् भाँचेर वितण्डा मच्चाउँदैनौं ।” नेतृ पौडेलले भनिन्, “गणतन्त्रको संस्थागत विकास र संघीयताको कार्यान्वयनमा सरकारलाई सहयोग गर्न खोज्दा काँग्रेस कमजोर देखियो ।” काँग्रेस अब संसद अबरुद्ध गरेर रेलिङ् भाँचेर भएपनि सरकारको बिरुद्धमा उत्रने नेतृ पौडेलले चेतावनी दिईन् ।

कोणसभामा बोल्दै संविधासभा सदस्य तथा जागरणका कन्द्रिय प्रतिनिधी झुलबहादुर आलेले सरकारले बुढीगण्डकी, अरुण तेस्रो बेचेको समेत आरोप लगाए । विना प्रतिस्पर्धा बुढीगण्डकी चिनीयाँ कम्पनीलाई दिनु राष्ट्रघात गरेको आलेले बताए ।

“ओली नेतृत्वको सरकार बनेपछि केहि राम्रो काम गर्ला भनेर हामी चुपचाप थियौं ।” अर्का केन्द्रिय प्रतिनिधि तथा काँग्रेस लम्जुङ्गका पूर्वसभापति तुलसीनारायण श्रेष्ठले भने, “तर सरकार निकम्बा बन्यो, जनताका पक्षमा एउटा काम गर्न सकेन ।” सरकारको काम देखे काँग्रेस मात्र होईन आम नागरिक दिक्क बनेको श्रेष्ठको भनाई थियो ।

काँग्रेसका युवा नेता गुरु बरालले कोणसभालाई सम्बोधन गर्दै सरकार भुमाफिया, हत्यारा, सुन तस्करी, भ्रष्टहरुको घेराबन्दीमा परेको बताए । कम्यूनिष्टहरुको समाजवाद आफु मोटाउ जनता लुट जस्तै बनेको बरालको जिकिर थियो । सरकारले हरेक क्षेत्रमा लुट मच्याएको बरालले बताए ।
सभामा बोल्दै राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी, संविधान सभाका सदस्य काँग्रेसका युवा नेता राजु थापाले सरकारले ठूला गफ गरेर आम नागरिकको दैनिक समस्यासँग खेलवाड गरेको बताए । उनीहरुले सरकारको यहि रबैया जारी रहे नागरिक स्तरबाट सरकार र व्यवस्था बिरुद्ध आन्दोलन हुन सक्ने चिन्ता व्यक्त गरे ।
स्याङ्जा काँग्रेसका कार्यबहाक सभापति कुमार रानाको अध्यक्षतामा भएको कोणसभाको संचालन प्रवक्ता ईन्द्रबहादुर गोदारले गरेका थिए । बिरोध ¥यालीमा जिल्लाभरका अगुवा काँग्रेस कार्यकर्ताको सहभागिता थियो ।तस्बिरः प्रकाश डोटेल



प्रतिक्रिया दिनुहोस्

Screenshot