काठमाडौं, १८ असोज । संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणको आरोपमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कडा कारबाही गर्ने भएको छ । महराले पदीय हैसियत भुलेर नैतिक पतनको बाटो समातेकोमा नेकपाका शीर्ष नेताहरु उनीविरुद्ध रुष्ट छन् ।
नेकपा सचिवालय बैठकले उक्त प्रकरण मिडियामा आएसँगै आकस्मिक बैठक डाकेर तत्काल सभामुख र सांसद पदबाट राजीनामा दिलाउन सुझाएको थियो । तर, महराले गोलमोटल भाषा प्रयोग गरेर सभामुखबाट मात्रै राजीनामा दिएका थिए । उनको राजीनामा पत्रमा आफूले छानबिन प्रक्रियासम्मको लागि मात्रै राजीनामा दिएको भाषा प्रयोग गरेका थिए । पछि, पार्टीभित्रैबाट चौतर्फी विरोध भएपछि उनले सुटुक्क दोस्रो राजीनामा बुझाएका थिए ।
पार्टीले दिएको निर्देशन पालना नगरेको र अटेरी गरेर बसेको भन्दै नेकपाले महरालाई अुनशासनको कारबाही गर्ने भएको छ । महराले सरकारी सुविधा भने फिर्ता गरिसकेका छन् । अहिले उनी सभामुखको सरकारी निवासमै बसेपनि भाडाको घर खोजिरहेका छन् । तर, भनेजस्तो घर भेटाएका छैनन् । कतिपयले त महरालाई कोठा दिनै मुश्किल भयो भनेर पनि टिकाटिप्पणी गरिरहेका छन् ।