काठमाडौं, १९ असोज । यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि प्रहरीले अनुशन्धान सुरु गरेको छ । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले निवर्तमान सभामुख महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले अनुशन्धान सुरु गरेको हो ।
तर, अहिले सरकारी कार्यालयहरु बन्द रहेकोले महरालाई तत्काल पक्राउ गर्ने सम्भावना पनि न्यून छ । तर, दशैंलगत्तै महरा पक्राउ पर्नसक्ने बुझिएको छ । शाही स्वयं शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर महराविरुद्ध बलात्कार प्रयासको कसुरमा किटानी जाहेरी दिएकी हुन् । शाहीले हिजो (शनिबार) मात्रै महराविरुद्ध उजुरी दिएकी थिईन् ।
प्रहरीले उनको लिखित उजुरीलाई आजबाट कारबाही अघि बढाउने तयारी गरेको थियो । तर, दशैं सुरु भएकोले महरालाई दशैं सकिएलगत्तै पक्राउ गर्ने कि भन्नेबारे पनि छलफल भएको बुझिएको छ । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भैसकेको छ । सीसीटीभी फुटेजमा समेत महरा रोशनीको कोठामा देखिएको स्रोतले उल्लेख गरेको छ ।