Logo

बमकाण्डपछि कारबाहीबाट बच्न अफताबले रोजेर लान्थे रौतहट प्रहरी प्रमुख



रिपोर्टर्स नेपाल । पहिलो संविधानसभाको चुनावताका बम बिष्फोट र घाइतेको सामूहिक हत्याको घटनाको विषय काठमाडौंसम्म पुगेपछि मोहम्मद अफताब आलमले रौतहटमा सीडीओ र प्रहरी प्रमुखमा आफूले भनेबमोजिमको मान्छे लान थालेको खुलेको छ । पहुँच र प्रभावका आधारमा घटनास्थलको प्रमाण नष्ट गर्न एकै रातमा सफल भएपछि उनले जो जो साक्षी र घटनास्थलबारे जानकार थिए तिनलाई प्रभावमा पार्ने, धम्क्याउने देखि सरुवा सम्म गर्न थाले ।

घटना घटेको २७ चैत्र २०६४ मा रौतहट जिल्लाका प्रहरी प्रमुख लक्ष्मण न्यौपाने थिए । राजपुरमा इञ्चार्जका रुपमा प्रहरी नीरिक्षक इन्द्र सुवेदी थिए । सुवेदीलाई घटनास्थलबारे राम्रो जानकारी छ किनभने उनी त्यहाँ पुगेका पनि थिए ।

घटना घटेको साँझ नै इन्स्पेक्टर सुवेदीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो । यसमा तत्कालिन रौतहट प्रहरी प्रमुख न्यौपानेले भूमिका खेलेका थिए ।
सुवेदीको सरुवापछि आफू अनुकूलको प्रहरी बोलाएर अफताबले आफू निकटस्थहरुलाई घटनाको सबै प्रमाण नष्ट गर्न लगाए । घटनाका प्रत्यक्षदर्शीले जिउँदै ईँट्टा भट्टामा घाइतेलाई हाल्न प्रहरी समेत संलग्न भएको बताएका छन् ।

घटनालाई छोप्न अफताब परिवार सफल भएपछि रौतहटमा आफू अनुकूलको प्रहरी प्रमुख र सिडिओ ल्याउन थाले । उनकै पहलमा जयबहादुर चन्द रौतहट प्रहरी प्रमुख भएर गए । चन्दले घटनाको अनुसन्धान अगाडि बढ्न नदिने देखि कारबाही प्रक्रियासमेत रोक्ने कार्य गरे । उनको भूमिका शंकास्पद बन्यो ।
रौतहटमा पुगेका अधिकांश प्रहरी प्रमुख अफताबकै चाहना अनुसार पुगेका थिए । उनको शक्तिले नपुगेका भएपनि प्रभावित बनाइहाल्थे ।

एआइजीबाट सेवानिवृत्त भएका चन्दपछि धनानन्द भट्ट पुगे । त्यतिबेलासम्म घटना झासमिस पारिसकिएको थियो । माथिल्लो निकायको दबाबका कारण अफताब र उनका परिवारका सदस्यलाई कारबही अगाडि बढेन । त्यसपछि वर्तमान डिआइजी पीताम्बर अधिकारी, धनश्याम अर्याल, ठूले राई, महेशविक्रम शाह, गोविन्द परियार, उमेश रञ्जितकार, सानुबाबु थपलिया, प्रधुम्न कार्की, गणेश रेग्मी यज्ञबिनोद पोखरेल, रवीन्द्र केसी समेत प्रहरी प्रमुख भएर गए तर दोषी प्रहरीको कारबाहीको दायरामा ल्याइएन । कार्की दुई नम्बर प्रदेशको प्रहरी प्रमुख बनेर गएका छन् । अहिले भने उनले अफताबलाई कारबाहीका लागि आफ्नो तर्फबाट पनि भूमिका खेलिरहेका छन् ।

File Photo



प्रतिक्रिया दिनुहोस्