काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईपिजीको प्रतिवेदन चाँडै बुझ्ने स्पष्ट पारेका छन् । सोमबार विहान पत्रकार ऋषि धमलासँग नेपाली बहसको लागि कुराकानी गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) का नेपाल तर्फका सदस्यसमेत रहिसकेका भट्टराईले मोदीले प्रतिवेदन बुझ्दैनन भनेर हल्ला गर्न नहुने बताए । उनले भने,‘भारतीय प्रधानमन्त्री मोदीले ईपिजीको प्रतिवेदन बुझ्नुहुन्छ । यस विषयमा हाम्रो कुराकानी भैरहेको छ । प्रतिवेदनको बारेमा शंका नगरौं ।’
उनले पछिल्लो समय नेपाल–भारत सम्बन्ध अत्यन्तै राम्रो रहेको पनि सुनाए । द्धिपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको उनको दाबी छ ।
त्यस्तै, उनले नेपालको दुई दिने राजकीय भ्रमणको बेलामा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ५६ अर्ब पैसा दिने भनेको कुरा अनौपचारिक मात्रै भएको प्रष्ट्याए । उनले भने,‘यो दुई पक्षबीच डिल भएर आएको होईन । यो त राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तामा यो कुरा भएको हो ।’
वर्तमान प्रधानमन्त्री ओलीको कार्यकालमा विकास र समृद्धिका धेरै काम भएको र हुने पनि उनको दाबी छ । त्यस्तै, सरकारको नेतृत्वबारे अध्यक्षद्धय ओली र प्रचण्डबीच आलोपालोमा कुनै सहमति नभएको पनि जिकिर गरे । उनले भने,‘दुवै अध्यक्षबीच हिजोमात्रै दुई पटक भेट्नुभयो । उहाँहरुबीच ६ बजेदेखि ८ बजेसम्म कुरा गरेर जानुभयो ।’