Logo

काग पूजाको महत्व



काठमाडौँ, ९ कात्तिक । नेपालीहरुको महान पर्व बडादशैं सकिए लगत्तैे यमपञ्चक तिहारको रमझम सुरु हुन्छ । तिहारको पहिलो दिन यमराजको दूत कागको पूजा गर्ने चलन छ । कागलाई यमराजको सन्देश वाहकको रुपमा सम्मान स्वरुप पूजा गरिएको हो ।

परापूर्व कालदेखि नै धर्मशास्त्र अनुसार कागलाई अहिले पनि सन्देश वाहक पक्षीको रुपमा लिइन्छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाअर्चना गरी मिठो खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने किंवदन्ती छ ।

विशेषगरी कागले अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहीआएको छ । सोही मान्यता अनुसार अझै पनि आफ्नो घरआँगनमा आएर काग कराउँदा कतैबाट राम्रो सन्देश आउँदैछ भन्ने जनविश्वास छ ।

हिन्दू धर्मशास्त्र अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म र मृत्युको विवरण राख्छन् भन्ने मान्यता छ । उक्त विवरणको सन्देश पृथ्वीलोकमा ल्याउने र लाने काम कागल गर्ने गरेको धार्मिक मान्यता छ ।

यमलोकबाट पृथ्वीसम्म छिटो सन्देश लाने ल्याउने काममा काग निपूर्ण देखिएकाले यमराजले उसलाई आफ्नो सन्देश वाहक दूत बनाएका हुन् ।

यस्तै काग तिहारको दिन कागको पूजाअर्चना नगर्दा पापको भागी भइने र मृत्युपछि नर्कलोकमा पुगिने धार्मिक विश्वास रहीआएको छ । त्यसैले काग तिहारको दिन कागलाई घरआँगनमा बोलाई मीठा खानेकुरा खुवाउने चलन छ ।

यस दिनमा विहानैदेखि धार्मिक मान्यता अनुसार कागको पूजा गरिन्छ, घर करेसामा टपरी,दुना, बोगता आदिमा विभिन्न खाद्यन्न राखेर कागलाई खान दिइन्छ । कागको पूजाअर्चना गर्दै आँउदो वर्षभरी कागले आफ्नो घरआगनमा सधैं राम्रो र सुखद खबर मात्रै ल्याओस भन्ने कामनासमेत गरिन्छ ।

त्यस्तै प्रकृतिको लागि पनि काग नभई नहुने पन्छी हो । यसले हाम्रो ‘इकोसिस्टम’मा पनि ठूलो योगदान पु¥याएको पाइन्छ । हामीले लगाएको बालीनालीलाई हानीनोक्सानी पु¥याउने किरा फट्याङ्ग्राहरुलाई नष्ट गरेर बाली जोगाउन मद्दत गरेको छ ।

त्यसैगरी, पर्यावरणलाई स्वच्छ राख्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । मानवसभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुप्रति गर्ने प्रेम र सदभाावको रुपमा लिइन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot