Logo

म ओरिजिनल माओवादीचाहिँ होइन : प्रचण्ड



काठमाडौं, ८ कात्तिक। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले आफू र अर्का अध्यक्ष केपी शर्मा ओली मुर्ख भएरनै पार्टी एकता भएको टिप्पणी गरेका छन् । उनले देशलाई समृद्धि र बिकासको बाटोतर्फ अघि बढाउनका लागि पार्टी र सरकारलाई बलियो बनाउनुपर्ने बताए ।

शुक्रबार पार्टीको चियापान कार्यक्रममा सम्बोधन गर्दै विराटनठर पुगेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् । दाहालले भने,‘अहिले पनि नेकपालाई कमजोर पार्ने खेल भइरहेको छ, पार्टी्भित्रै नेताहरुबीच फुट सिर्जना गर्ने षडयन्त्र भइरहेको छ ।’ उनले पार्टी एकतालाई बलियो बनाएर मात्रै राष्ट्रलाई बलियो बनाउन र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न सक्ने धारणा राखे ।

अध्यक्ष दाहालले आफू र ओलीलाई दुई मुर्ख कमाण्डरको संज्ञा दिए । उनले भने,‘हामी दुई मुर्ख कमाण्डरको पार्टी एकतालाई आँखाको नानी बनाउनसहोस् । दुई पार्टीका दुई मुर्ख कमाण्डरले गरेको निर्णयमा सबै कार्यकर्ता हाम्फालेर लागेका कारण एकता सफल भयो । पार्टी एकतापछि एकले अर्कोलाई चिन्नुपर्ने र विस्वास दिलाउनुपर्ने बेला अहिले भएकोले पार्टी एकतालाई आँखाको नानी बनाएर अगाडि बढाउनुहोस् । पछिल्ला समय केही गतिविधिहरु भएको र त्यसले पार्टी्भित्र घुन पुत्लो लगाउने प्रयास भइरहेको छ । पार्टी एकता भएको देख्न नचाहने केही तत्वहरुलाई जवाफ दिनुपर्ने खाँचो छ ।’

उनले बिचार मिलेर नै पार्टी एकता भएको बताए । दाहालले भने,‘हामी अगाडि बढ्न खोजीरहेका छौं । अगाडि बढ्दा इतिहासलाई मेटेर होइन, इतिहासका राम्रा कुरालाई आत्मासात गरे अझ माथि उठ्ने हो ।’ अध्यक्ष प्रचण्डले पार्टी एकताको रक्षा र पार्टी विधानको आधारमा चल्नुको बिकल्प नरहेको बताए ।

यसअघिका अनुभवलाई आत्मसाथ गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने उनको भनाई थियो । उनले एकतालाई आखाँको नानी जस्तै प्यारो मानेर अघि बढ्नुपर्ने भन्दै भने,‘अप्ठेरो छ, तर त्यही अप्ठेरोलाई चिर्दै अघि बढ्नुपर्छ ।’ प्रचण्डले आफुले २०२८ सालमा पुष्पलाल समूहबाट सदस्यता लिएको र २०३३ सालमा मात्रै चौथो महाधिवेशन (जसलाई चौम पनि भनिन्छ) मा गएको बताए । मदन भण्डारी (जो पुष्पलाल समूहबाट कोअर्डिनेशन केन्द्रमा गएका थिए) सँग तुलना गर्दै प्रचण्डले कार्यक्रममा भने, ‘म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो ।’ उनले आफू ओरिजिनल चौम,मसाल र माओवादी नभएको बताए ।

उनले झापा विद्रोह कोअर्डिनेशन केन्द्रको लिगेसी बोकेकाहरूबाट भएको र पुष्पलाल समूहबाट आएका मदन भण्डारीले पार्टीको नेतृत्व गरेको पनि स्मरण गरे । उनले भने,‘तपाईंहरूलाई ओरिजिनल मसाल, माओवादी नै लाग्ला, म पनि ओरिजिनल माओवादीचाहिँ होइन ।’



प्रतिक्रिया दिनुहोस्