काठमाडौं, कात्तिक १० । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको ४५ कट्ठा ऐलानी जग्गामा कब्जा गरी माटो पुर्न थालिएपछि स्थानीयले बिरोध जनाएका छन्। युनाइटेड लजेस्टिक नेपाल ९बिशाल ग्रुप०ले परवानीपुर सुक्खा बन्दरगाह बाइपास ६ लेन सडकखण्डमा करिब ८ कट्ठा जग्गा किनेको छ। त्यस जग्गा पछाडि लालपर्साको उक्त ऐलानी गौचरनको जग्गा रहेको छ। ऐलानीपछि सोही कम्पनीको अर्को ठूलो किता जग्गा रहेको छ। आफ्नो २ वटा प्लट बिचमा पर्ने ऐलानी जग्गा कम्पनीले बलजफ्ती स्थानीय बाउन्सरको बलमा कब्जा गर्न लागेको छ।
त्यहाँका वडाध्यक्ष अमानत अन्सारीले उक्त गतिबिधिमा सघाएको स्थानीयले आरोप लगाएका छन्। वडा अध्यक्ष अन्सारीले करिब ६ महिना अगाडि नै गाउँमा सर्वपक्षीय भेला गराई उक्त ऐलानी जग्गामध्ये केही भाग कम्पनीलाई दिन प्रस्ताव गरेपछि भेलाले प्रस्ताव अस्वीकार गरेको थियो। अहिले भने वडा समिति वा महानगरपालिकाको कार्यालयसंग बिनाकुनै बैधानिक सहमति कम्पनीका मान्छेले बलजफ्ती उक्त ऐलानी जग्गामा माटो खसाल्न थालेका छन्।
२०७५ चैत ५ मा स्थानीय युवाहरुले वीरगन्ज महानगरपालिकालाई सामूहिक निवेदन दिँदै उक्त जग्गामा जेष्ठ नागरिक पार्क निर्माण गर्न माग गरेका थिए। वीरगन्जका नगरप्रमुख विजय सरावगीले निवेदनमा जग्गा नापी गरी छुट्याउने तोक लगाउँदै प्रक्रिया अगाडि बढाउने आश्वासन दिए। यसैविच स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ऐलानी जग्गा अतिक्रमण रोक्न भनेर निवेदन दिएका छन्। जिल्ला प्रसाशन कार्यालयले ऐलानी जग्गा यकिन नभएसम्म कुनै पनि संरचना निर्माण नगर्न आदेश गरेको छ।
आजको नागरिक राष्ट्रिय दैनिकमा रितेश त्रिपाठीले समाचार लेखेका छन् ।