काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अत्यन्तै राम्रो सम्बन्ध रहेको स्पष्ट पारेका छन् । अजबैजान भ्रमण सकेर आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो कुरा बताएका हुन् । उनले प्रचण्डसँग भविष्यमा पनि दुरी बढ्ने सम्भावना नरहेको जिकिर गरे ।
ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुनै प्रकारको दूरी नबढेको र बढ्ने अवस्थासमेत नरहेको जनाए । असंलग्न आन्दोलन(नाम)को अजरबैजानको बाकुमा सम्पन्न १८औंँ शिखर सम्मेलनमा नेपाली प्रमण्डलको नेतृत्व गरी आज स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालसँग दूरी बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले उक्त जवाफ दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भने,“उहाँ काठमाडौँमा र म बाकुमा हुँदा दूरी त बढ्ने नै भयो । किनकी दूरी नै टाढा छ । त्योभन्दा अरु टाढा केही पनि छैन । दूरी बढ्ने स्थिति र सम्भावना पनि छैन ।” जननेता मदनकुमार भण्डारीकै कित्तामा विगतमा आफू रहेको भन्ने अध्यक्ष दाहालको पछिल्लो अभिव्यक्तिबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ थियो, “उहाँले कुन प्रसङ्गमा भन्नुभएको हो त्यो थाहा भएन तर जननेता भण्डारीको विचारका आधारमा पार्टीलाई समयानुकूलरुपमा अघि बढाउँछु भन्नुभएको हो । भण्डारीसँग पनि जोड्ने अनि हाम्रो दूरी बढेको कुरा पनि गर्ने, यो कुन गणितले काम गर्छ मलाई थाहा भएन । गणित मिलेन । हाम्रो दूरी बढेको छैन ।”
प्रधानमन्त्री ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन ९नाम० राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन गएका थिए । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै आज बिहान काठमाडौँ आइपुगेको हो ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायतले स्वागत गरेका थिए । सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम