Logo

विवादमा नेकपा, होली वाइनले गिराएको नेपालको साख



काठमाण्डौ । सत्तारुढ दल नेकपा विवादै विवादमा छ । विवादको चुरो गुटगत राजनीति हो । नेतैपिच्छे गुटका कारण पार्टीको हरेक महत्वपूर्ण निर्णय विवादमा पर्ने गरेको छ । अर्कोतिर नेकपाको स्थायी कमिटि र केन्द्रिय समिति बैठक बस्नै सकेको छैन । पोलिटव्यूरो त गठन नै भएको छैन । जसले गर्दा सबै निर्णय सचिवालय अझ भनौँ जसको शक्ति उसैको भक्तिको आधारमा हुने गरेको छ ।

तत्कालिन नेकपा एमाले र माओवादीबीच एकतापछिको गुटगत राजनीति झन मौलाएपछि पार्टीको विवाद पनि बढेको बढ्यै छ । पछिल्लो पटक नेकपा सचिवालयले प्रदेश प्रमुखको नाम चयन गर्दा सबै नेताहरुलाई सन्तुष्ट बनाउन सकेन ।

पटक पटक सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टी जनाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश प्रमुख चयनमा पनि लिखित विमति नै जनाए । महत्वपूर्ण निर्णयहरु गर्दा पार्टीभित्र पर्याप्त गृहकार्य गर्नुपर्नेमा त्यसो नगरिदा नेपालको असन्तुष्टी बाहिर आएको नेता युवराज ज्ञवालीको तर्क छ ।

नेपालले फरक मत राखेको यो पहिलो पटक होइन । गत भदौमा सचिवालय बैठकले गरेको जनवर्गीय संगठनको भागबण्डासम्बन्धी निर्णयमा पनि नेपाल असन्तुष्ट हुनुहुन्थ्यो । त्यसअघि साउन ३१ को सचिवालय बैठकले पार्टीको वरीयतामा तेस्रो स्थानमा रहेका नेपाललाई चौथो स्थानमा झार्ने निर्णय गर्दा पनि नेपालको फरक मत थियो ।

भदौ ५ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच व्यक्तिगत तहमै उत्रिएर आरोप–प्रत्यारोप भएको थियो । तर नेपालको असहमतिले अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाललाई कुनै असर नपर्ने विश्लेषकहरु बताउँछन् । नेपालको अगुवाइमा नेपालमा एसिया प्यासिफिक सम्मेलन अर्थात होली वाइन पिलाउने कार्यक्रम भएपछि ओली र दाहालले नेपाललाई पेल्न थालेको वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको टिप्पणी छ । नेता नेपालले जे भनेर नेपालमा समिट गराएका थिए त्योभन्दा फरक कार्यक्रम भएको र त्यसले सरकारलाई नै विवादमा तानेको ओलीको बुझाई छ ।

नेकपाको स्थायी कमिटि र केन्द्रिय समिति बैठक लामो समयददेखि बस्नै सकेको छैन । पोलिटव्यूरो त गठन नै भएको छैन । अध्यक्षद्धय ओली र दाहालबीचसमेत कतिपय विषयमा छलफल हुँदैन । जसले गर्दा पार्टीको नेतृत्व गर्ने ओली र दाहालबीच पनि सुभधुर सम्बन्ध रहन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्