काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानी विवादबारे छलफल गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागीहरुले नेपाल–भारत सिमा विवादबारे अब उच्चस्तरीय राजनीतिक तहमा छलफल गर्नुपर्ने सुझाव दिएका छन् ।
बैठकबाट बाहिरिने क्रममा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचको सिमा विवाद अब सचिवस्तरीय संयन्त्रबाट समाधान नहुने भएकोले आफूहरुले यसलाई भारतसँग राजनीतकि तहमा वार्ता तथा छलफल गर्न सुझाव दिएको प्रतिक्रिया दिए । उनले भने,‘अब नेपाल र भारतबीच प्रधानमन्त्री तहमा डिल गर्नुपर्छ । दिर्घकालिन समाधान खोज्नुपर्छ । तथ्यांकसहित जानुपर्छ ।’
उता, राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि तथ्यांकअनुसार पनि कालोपानी र लिपुलेक नेपालको भूमी भएकोले यसबारेमा सरकारले भारतसँग कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने धारणा राखे । पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले पनि आफू त्यही ठाउँको मान्छे भएकोले नेपालले आफ्नो भूमि लिनको लागि पहल गर्नुपर्ने बताए ।
भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि प्रधानमन्त्रीले यस विषयमा सर्वदलीय बैठक डाकेका हुन् । बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, दलका प्रतिनिधिहरुका साथै सीमा विज्ञहरु पनि सहभागी छन् ।