Logo

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको नक्शा भारतलाई बुझाउने सहमति



काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वपक्षीय बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू–भाग रहेको निश्कर्ष निकाल्दै सहभागी नेता तथा पूर्व राजदुतहरुले भारतसँग राजनीतिक रुपमा कुरा गर्नुपर्ने सुझाव दिएका छन् । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा अधिकांश नेता तथा पूर्वराजदुतहरुले भारतसँग नेपालको सिमा विवादबारे दिर्घकालिन रुपमा समाधान खोज्नुपर्ने सुझाव दिएका हुन् ।

बैठकबाट बाहिरिने क्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपाका सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले नेपालले कालापानी, लिपुलेकदेखि लिम्प्यिाधुरासम्मको नक्शा बनाउने र सो नक्शा भारतलाई बुझाउनुपर्नेबारे बैठकमा छलफल भएको सुनाए । उनले भने,‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली जमिन हुन् । यसमा हामी सबैको एकमत धारणा रह्यो ।’ उनले थपे,‘कालापानी, लिपुलेक हाम्रै जमिन हुन, लिपुलेकबाट भारतीय सेना हटाउन पहल गर्ने कुरा पनि आजको छलफलमा भएको छ । यसको लागि अब नेपाल र भारत दुवै तर्फमा राजनीतिक स्तरमा कुरा गर्नुपर्छ । दुवै देशका प्रधानमन्त्रीबीच बसेर कुरा गर्न पनि हामीले सुझाएका छौं ।’ नेता गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भुमी हो भन्ने विषमया राष्टिय सहमति भएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्