काठमाडौं, २४ कात्तिक । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र भारतमा गाभिएको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार नेत्रविक्रम चन्द नेतृत्वको समूहको विद्यार्थी संगठनले गरेको प्रदर्शनमा सहभागी विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । माइतीघर मन्डलाबाट निकालिएको जुलुुसमा कोटेश्वरस्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा–८ देखि कक्षा–१२ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।
माइतीघर मण्डलामा झण्डा र कालो ब्यानरसहित आएका उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । विद्यार्थीहरुले नारावाजी गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेको हो । विप्लवसहित नेताहरु भूमिगत रहेको अवस्थामा कालापानीको मुद्दामा विद्यार्थी नेता कार्यकर्ता सक्रिय भएका छन् । उनीहरुको सक्रियतालाई प्रहरीले कडा निगरानीमा राखेको बुझिएको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम