Logo

ओली, प्रचण्ड र देउवाबीच अख्तियारसहित संवैधानिक आयोगमा नियुक्तिबारे सहमति



काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मासहित दुई पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति जुटेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित महत्वपूर्ण आयोगहरुमा नियुक्तिबारे मोटामोटी सहमति जुटेको छ ।

आयोगमा नियुक्तिका लागि प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, सभामुखको मुख्य भूमिका हुन्छ । यसैलाई दृष्टिगत गरी ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष प्रचण्डलाई बालुवाटारमा डाकेर बुधबार छलफल गरेका हुन् । छलफलमा सबैभन्दा महत्वपूर्ण सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगलाई पूर्णता दिनेबारे छलफल भयो । नेताहरुबीच त्यसबारे मोटामोटी सहमति जुटेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

प्रचण्डले सत्यनिरुपण आयोग र मेलमिलाप आयोगलाई पूर्णता दिनेबारे चासो दिएका थिए । यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्णता दिनेबारे समेत सहमति बनेको छ । तर, व्यक्तिबारे सहमति जुटाएर नियुक्ति दिने टुंगो लगाइएको छ ।

अख्तियार सदस्यका लागि रिक्त दुई सदस्यमा सत्तारुढ नेकपा र नेपाली काँग्रेसले व्यक्तिको नाम सिफारिश गर्ने सहमति बनेको बालुवाटार स्रोतले जानकारी दियो । नेकपाबाट व्यक्तिको नाम ओली र प्रचण्डले सहमति गरेर टुंगो लगाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot