Logo

काठमाण्डौ महानगरमा भ्रष्टाचार, अख्तियारले सुरु गर्यो छानविन



काठमाण्डौ । सहरलाई स्मार्ट सिटी बनाउँछु भन्ने काठमाण्डौ महानगरपालिका नै भ्रष्टाचारमा लिप्त हुन खोजेको आशंका गरिएको छ । विकास निर्माणका लागि खरिद गरिएका विभिन्न सामग्रीमा भ्रष्टाचार गरेको आशंकामा अनुसन्धान गर्नुपर्ने देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरले भ्रष्टाचार गरेको हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको छ ।

काठमाण्डौ महानगरपालिकाले ल्याएको नयाँ ब्रुमरको खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियार अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । ब्रुमर खरिदको प्रक्रिया र मूल्य शंकास्पद देखिएको भन्दै अख्तियारले अनुसन्धान अघि बढाएको हो । ब्रमरका विषयमा गत साउनमै उजुरी परेको थियो ।

उजुरी परेपछि अख्तियारले महानगरलाई साउन २८ गते पत्राचार गर्दै १५ दिनभित्र ब्रुमर खरिदबारे तथ्यसहित प्रतिक्रिया माग गरेको थियो । उक्त प्रतिक्रिया चित्त नबुझेपछि अख्तियारले गत १९ गते सम्पूर्ण कागजात माग माग्यो । ब्रुमर किन्दा मिलेमतोमा कमिसन खाने गरी खरिद प्रक्रिया अघि बढाएको आंशका अख्तियारले गरेको छ । यस सम्बन्धमा अख्तियार प्रवक्ता प्रदिप कोइरालासँग बुझ्दा अनुसन्धान प्रक्रिया अघि बढेको पुष्टी गरे ।

यता महानगरले भने ब्रुमर खरिदमा कुनै पनि आर्थिक अनियमितता नभएको दावी गर्दै आएको छ । ब्रुमर खरिदका क्रममा सबै प्रक्रिया कानुनसम्मत ढंगले पूरा गरिएको प्रवक्ता ईश्वरमान डंगोलको दावी छ । अख्तियार प्रवक्ता कोइरालाले भने कुनकुन विषयमा अनुसन्धान भइरहेको भन्ने खुलाउन चाहेनन् । ब्रुमरसम्बन्धमा उजुरी परेको भने पुष्टी गरेका हुन् ।

गत चैतमा झण्डै ११ करोड रुपैयाँ खर्चिएर महानगरपालिकाले ५ वटा ब्रुमर ल्याएको थियो । पाँच ब्रुमरमध्ये चारवटा १६ टन क्षमताका तथा अर्को एउटा ६ टन क्षमताको हो । गत वैशाख २६ मा बसेको काठमाडौं महानगरको ३२ औं कार्यपालिका बैठकले ठेक्का नगरी सोझै ब्रुमर किन्ने निर्णय गरेको थियो ।

स्मार्ट पार्किङ, विज्ञापन बोर्डका साथै ब्रुमर खरिदका विषयमा समेत अख्तियारले कागजात मागेपछि यतिबेला महानगर कागजात भेला पार्न जुटेको छ । तर प्रवक्ता डंगालले भने ब्रुमरबाहेक अरु कामको विषयमा अनुसन्धान नै नभएको जिकिर गरेका छन् ।

देशकै सबैभन्दा बढि जनघनत्व रहेको काठमाण्डौ महानगर अस्तव्यस्त छ । व्यवस्थित बनाउने प्रतिवद्धतासहित जनताबाट निर्वाचित भएर महानगरको नेतृत्वमा आएका जनप्रतिनिधि जिम्मेवार बन्न सकेको पाइदैन । जनताको समस्या समाधान गर्ने बहानामा भ्रष्टाचार र कमिसनको खेलमा लाग्नु दुर्भाग्य हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot