रौतहट, कार्तिक २८ । राजपुर बमकाण्डका मुख्य आरोपित महमद आफताब आलमको पक्षबाट बहस गर्ने वकिलहरूले राजनीतिक प्रतिशोधले फसाउने प्रयास भएको जिकिर गरेका छन्। रौतहट जिल्ला अदालतका दीपक ढकालको इजलासमा आलमको पक्षमा बचाउ गर्दै बुधबार पनि चारजना कानुन व्यवसायीले बहस गरेका हुन्।
पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले आलमको तर्फबाट बहस गर्दै मिडिया र प्रहरीमाथि नै दोष लगाएका छन्। न्यायाधीश ढकालको इजलासमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले आलमलाई राजनीतिक प्रतिशोधले फसाउन खोजिएको बताए।
उनले १२ वर्षअघि यस्तो कुनै घटना नभएको या यसको कुनै आधार र प्रमाण फेला नपरेकाले तत्कालीन सरकारी वकिल र माहान्यायाधिवक्ताको कार्यालयले खारेज गरेको अवस्थामा यो मुद्दा चल्नुपर्ने कुनै तर्क नरहेको जिकिर गरेका छन्।
घटनाको सुरुमै तत्कालीन प्रहरीले अनुसन्धाबन गर्दा घटना नै नघटेको प्रस्ट हुँदाहुँदै अहिले आएर घटनाको प्रमाण खोजिएको छ। त्यसको मुख्य दोषी तत्कालीन प्रहरी रहेको र उनलाई कारबाहीको दायरामा तानिनुपर्ने तर्क दिँदै आलमलाई फसाउन अहिले जति पनि प्रमाण प्रहरीले पेस गरेको छ ती सबै बनावटी रहेको उनले जिकिर गरेको आजको नागरिकमा खवर छ ।