काठमाडौं, २ मंसिर । आज हुने भनिएको मन्त्रिमण्डल पूनर्गठन नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यसबारेमा पार्टीका शीर्ष नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् । हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पूनर्गठन गर्ने निर्णय भएको थियो ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय आफू नयाँ ढंगले अघि बढ्न चाहेको बताउँदै सोहीअनुसार आफ्नो सचिवालय टिमको सेट नै परिवर्तन गरेका छन् । आफ्नो सचिवालय टिममा उनले पूराना सदस्यमा राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकारलाई नै निरन्तरता दिएका छन् ।
मन्त्रीहरुको प्रस्तुति खासै प्रभावकारी नभएकोले सरकारले आलोचना खेप्नु परेको प्रधानमन्त्रीको बुझाई छ । सोहीअनुसार उनले नयाँ टिम बनाउन लागेका छन् । सचिवालय बैठकले पनि मन्त्री कसलाई बनाउने क–कसलाई हटाउने सम्पूर्ण अधिकार प्रधानमन्त्री ओलीलाई नै दिएको छ । तर, सचिवालय बैठकले मन्त्री बनाउँदा समावेशी बनाउन आग्रह गरिएको छ ।
आज साँझसम्म मन्त्रिमण्डल पूनर्गठन गर्ने भनिएपनि प्रधानमन्त्रीले शीर्ष नेताहरुसँग छलफल जारी राखेकोले आजै नहुने भएको छ । नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार अहिलेपनि प्रधानमन्त्री ओली मन्त्रिमण्डल पूनर्गठनबारे आन्तरिक छलफलमा छन् । उनले भने,‘आज हेरफेर हुँदैन् । भए एक दुई दिनभित्रै हुन्छ ।’