Logo

प्रधानमन्त्रीज्यूसँग अन्तिम पटक कुरा गर्दैछौं त्यसपछि… -रकम चेम्जोङ, नेता, समाजवादी पार्टी



काठमाडौं, ६ मंसिर । समाजवादी पार्टीका नेता रकम चेम्जोङ कम्युनिष्ट राजनीति त्यागेर गैरकम्युनिष्ट राजनीतिमा लागेका हुन् । समाजवादी पार्टीले सरकार छाड्न सक्ने संकेत गर्दै महतवपूर्ण खुलासा गरेका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

तपाईंहरु अब सरकारबाट बाहिरिनुहुन्छ कि रहिरहनुहुन्छ ?
आज दिल्लीबाट अध्यक्षज्यू आउनुहुन्छ, त्यसपछि मात्रै ठोस निर्णय हुन्छ । मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । त्यसकै कारणबाट सरकारबाट बाहिरिनुपर्छ भन्ने लाग्दैन । एउटा मात्रै उद्देश्य लिएर सरकारमा गएका हौं, ‘त्यो हो संविधान संशोधन’ । मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हो त्यो गर्नुभएको छ ।
तपाईंहरु सरकारविना बाँच्न सक्नुहुन्न हो ?
हामी सरकारमा गएको मन्त्री खान मात्रै होइन, संविधान संसोधनको मुद्दा लिएर गएका हौं । त्यसलाई मूर्त रुप दिन सरकारमा बसेर कसरत गर्दछौं । त्यसो गर्दा पनि संविधान संशोधनको काम अगाडि बढेन भने एक मिनेट पनि त्यहाँ बस्दैनौं ।
अहिलेको मन्त्रिमण्डल पुनर्गठनबाट तपाईंहरुको असन्तुष्टि छैन ?
पूर्ण असन्तुष्टि या पूर्ण सन्तुष्टि भन्ने हामीहरुबाट भएन । यसबाट हामी विचलित छैनौं । अभैm पनि थोरै आशा छ, यही बसेर संविधान संशोधन गर्न सकिन्छ कि भन्ने । प्रधानमन्त्रीसँग अन्तिम कुराकानी गर्न पाएको छैन । उहाँसँग ‘एस वा नो’मा फाइनल कुराकानी गरिसकेपछि हाम्रो माग पुरा नहुने भयो भने बाहिरिन्छ ।
उपेन्द्र यादव कुर्सी पाएपछि छोड्नै चाहनुहुन्न रे हो ?
यसलाई हामीले राजनीतिक रुपले हेरिरहेका छौं । संविधान संशोधन हाम्रो मूल मुद्दा हो । यो सरकारले निकासनिर्माणमा आमूल परिवर्तन ल्याउँछ । त्यसमा बसेर ठूलो जस पाइन्छ भनेर हामी सरकारमा गएका होइनौं । दुई बुँदे सहमतिमा सरकारमा गएका हौं, ‘त्यो हो संविधान संशोधन हो’ ।
संविधान संशोधनको निहुमा कमाउ धन्दातिर लागिसक्नुभयो नि ?
अहिले आर्थिक लाभको कुरै नगरौं । हामी सरकारमा पहिलादेखि एउटै अडानमा छौं । त्यसमा अलिकति पनि पछि हटेका छैनौं । आर्थिक लाभ कसले गरे, कसले गरेनन् त्यो थाहा भएन । अब एकपटक प्रधानमन्त्रीसँग अन्तिम कुराकानी गर्दछौं हुने नहुने बारेमा । सहमतिअनुसार कुरा मिलेन भने बाहिरिन्छौं ।
संविधान संशोधन प्रक्रिया अगाडि बढेन भने सरकारबाट बाहिरिनुहुन्छ हो ?
हो, हामी तुरुन्तै सरकारबाट बाहिरिन्छौं ।
मन्त्रिमण्डल पुनर्गठन प्रक्रियामा असन्तुष्टि छैन ?
पुनर्गठन प्रधानमन्त्रीको अधिकार हो । तर हाम्रा पार्टी अध्यक्षसँग त्यो बारे कुराकानी भयो, भएन त्यो थाहा छैन । हामीसँग त्यसबारे कुराकानी भएको छैन । संवैधानिक रुपले त्यो अधिकार हुन्छ कि हुँदैन त्यो उहाँलाई नै थाहा होला ।
उपेन्द्र यादवले प्रदेश नंं. २ का जनताको लागि के गर्नुभयो ?
प्रदेश नं. २ को कुरा गर्दा कसैले काम भयो भन्लान्, कसैले भएकै छैन भन्लान् त्यो आफ्नो हेराइमा भर पर्ने कुरा हो । प्रदेश सरकारले कामै गरेन भन्ने भन्दा काम भएको छ । उपलब्ध साधन–स्रोत अनुसार काम भएको छ । जहाँसम्म हाम्रो सरकारमा संलग्नता छ । खासगरी २ नम्बर प्रदेशमा यो प्रदेश सरकारले विकास गरेर जनताबीच ठूलो समृद्धि ल्याउँछ । हामी ठूलो जस पाउँछौं भनेर सरकारमा गएको होइन । त्यो हु्ँदा पनि हुँदैन, हामीलाई आशा पनि छैन । हाम्रो देशमा विकास गर्नको लागि हिमाल, पहाड र तराइँका जनतालाई समान रुपमा अधिकार स्थापित हुनुपर्छ मनि मात्रै समृद्धि हुन्छ । यसको लागि संविधान संशोधन हो ।
संविधान संशोधन अहिलेको मुख्य एजेन्डा हो त ?
मुलुकमा शान्ति र स्थिरताको लागि आजको मुख्य एजेन्डा भनेको संविधान संशोधन नै हो ।
संविधान संशोधनबाट जनताले के पाउँछन् ?
प्रादेशिक स्थिरताको लागि, आदिवासी जनजातिका मुद्दालाई सम्बोधन गर्नका लागि, समावेसीतालाई सम्बोधन गर्नको लागि, अल्पसंख्यक, उल्पीडित, पिछडा वर्गको उत्थानको लागि संविधान संशोधनको आजको आवश्यकता हो । अहिलेको संविधानले मात्रै मुलुकका सबै वर्गमा स्थिरता र शान्ति आउन सक्दैन । समावेसिताको सम्बोधन अहिलेको संविधानले गर्न सकेको छैन । यसले सीमित जाति र समुदायलाई मात्रै समेटेको छ, त्यसैले संविधान संसोधन आजको आवश्यकता हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot